विराटनगर / श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका दुई जना महिला कर्मचारीहरूलाई दोस्रो पटक मोरङ प्रहरीले बिहीबार पाँच दिनको म्याद थप गरेको छ ।

सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नेत्र भट्टराई र मेनुका कोइरालालाई जिल्ला प्रशासन कार्यालय मोरङमा ‘अभद्र व्यवहारको मुद्दा’ मा दोस्रो पटक पाँच दिनको म्याद थप भएको हो ।
अनुसन्धान पूरा नभएपछि दोस्रो पटक पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
आफनै कार्यालयका कार्यालय सहयोगी दुई जना महिला कर्मचारीले साउन १७ गते शनिबार ११ बजे सञ्जेललाई कुटपिट गरेका थिए ।
महिला कर्मचारीले कुटपिट गरेपछि गत शनिबार दिउँसो सञ्जेलले मोरङ प्रहरीमा अभद्र व्यवहारको मुद्दामा जाहेरी दिएका थिए । पीडितले जाहेरी दिएपछि मोरङ प्रहरीले गत आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा पहिलो पटक दुई जना महिला कर्मचारीलाई म्याद थप गरि अनुसन्धान सुरू गरेको थियो ।

यता कुटपिट गर्ने महिलाहरूले सञ्जेलले सहन नसक्ने गरि अपशब्द बोलेर दुव्र्यवहार गरेको, अनावश्यक रुपमा काममा पेलाउने र जिम्मा मै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएको आरोप लगाउँदै कुटपिट गरेको बताउदैं आएका छन् ।
उनीहरूले सञ्जेललाई टेबुलमाथि राखेको पेपर वेटको डल्लो, नेम प्लेट र पञ्चिङ मेसिन प्रहार गरेका थिए । कुटपिटबाट सञ्जेलको निधार, ओठ र हातमा चोट पटक लागेको छ ।

पक्राउ परेका महिलाका आफन्तले दर्ता गराएको रिट खारेज
प्रहरीले गैरकानुननी रूपमा थुनामा राखेर अनुसन्धान गरेको भन्दै पक्राउ परेका महिला कर्मचारीका आफन्तले उच्च अदालत विराटनगरमा दर्ता गराएको रिट अदालतले बिहीबार खारेज गरिदिएको छ ।
पक्राउ परेका नेत्र भट्टराईको हकमा नवराज निरौला र मेनुका कोइरालाको हकमा अन्जनी कोरालाले मोरङ प्रहरी र श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई विपक्षी बनाई दर्ता गरेको बन्दीप्रत्येक्षीकरणको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएको हो ।

पक्राउ परेका कर्मचारीका आफन्तले साउन १८ गते उच्च अदालत विराटनगरमा बन्दीपत्येक्षीकरण मुद्दा दर्ता गराएका थिए । बिहीबार उच्च अदालत विराटनगरका ६ नम्बर इजालशमा भएको बहसपछि न्यायाधीश महेश शर्मा पौडेल र यमुना भट्टराईको संयुक्त इजालशले रिट खारेजको फैसला गरेको अदालतले जनाएको छ ।