विराटनगर । विराटनगरमा देखिएको संक्रमित मध्ये कोशी अस्पतालका स्टाफ नर्स सहित तीन जनामा पनि संक्रमण देखिएको छ । दुई जना नर्स र एक जना सफाइ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको कोशी अस्पतालका सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए ।

उनका अनुसार कोशी अस्पतालमा मंगलबारसम्म संक्रमितको संख्यामा ११ पुगेको छ । कोशी अस्पतालका तीन कर्मचारीसहित विराटनगरमा मंगलबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

मोरङमा २० जनासहित प्रदेश १ मा ४३ जना नयाँ संक्रमित मंगलबार थपिएका छन् । जसमा झापामा ८ जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै सुनसरीमा ११ पुरूष र १ महिला गरि जम्मा १२ जना, इलामा २ पुरूष र जिल्ला नखुलेका १ जना कोरोना संक्रमण देखिएको छ ।