धरान/ अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न एनसेल प्रालि र उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता सङ्गठन हिसानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

एनसेलले विद्यार्थी, शिक्षक र शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यअनुरूप यस समझदारीअन्तर्गत विशेष मासिक योजना प्रदान गर्ने जनाएको छ । यो योजनामा भ्वाइस, डाटा र एसएमएसको बण्डलसहितको सेवा लिन सकिन्छ । यस विशेष योजनाअन्तर्गत विद्यार्थीले मासिक २ सय ५० रुपैयाँ (करबाहेक) मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिटको सेवा लिन सक्नेछन् ।

यस्तै माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जीबी डाटा, १ जीबी थ्रीजी र फोरजी डाटा, २ जीबी फोरजी डाटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १ सय २० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउनेछन् । यी योजना मासिक ३ सय ५० रुपैयाँ (करबाहेक)मा उपलब्ध भएको एनसेलले जनाएको छ ।

समझदारीपछि एनसेलका प्रमुख वाणिज्य अधिकारी प्रदीप श्रीवास्तवले यस कोभिड–१९ को महामारीले ठूलो चुनौती सिर्जना गर्नुका साथै कनेक्टिभिटी र टेक्नोलोजी प्रयोग गर्दै अबको ‘न्यु नर्मल’ सँग अभ्यस्त हुन अवसर पनि प्रदान गरेको बताए । यस सहकार्यअनुसार हिसानको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक र शिक्षिकाहरूले यो सेवा लिन सक्ने एनसेलले जनाएको छ । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।