कानेपोखरी/ मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत बिद्यालयको गुणस्तरीय शिक्षा प्रदान गरि जिल्लामा नमूना विद्यालयको रूपमा स्थापित गराउन पूर्व विद्यार्थीहरू संगठित भएका छन् ।

विद्यालयको भौतिक संरचनाहरू स्तरउन्नती गरि अभिभावकको मन लोभ्याउने विद्यालय बनाएको सरस्वती स्कूलमा पूर्व विद्यार्थीहरू संगठित भएर अब गुणस्तर सुधारमा लाग्ने भएका हुन् ।

विद्यालयको गुणस्तर सुधार गर्ने उद्देश्यले पूर्व विद्यार्थी खगेन्द्र बराइको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको छ । स्कूल परिस भित्र भएको भेलाले उपाध्यक्षमा जीवन कुमार घिमिरे, सचिब बुद्धिप्रसाद ९बिजय० भट्टराइ, सह–सचीवमा गौरीमान पुरी र कोषाध्यक्षमा बिनादेवी तामाङ्ग रहेकी छिन् ।

यस्तै सरस्वती आधरभूत विद्यालयको पूर्व विद्यार्थी संगठनको अन्य सदस्यहरूमा मनिका लिम्बु, नीता भट्टराई, युवराज कार्की, प्रविन सुवेदी, नबिन बोहोरा, रितुमान दर्जी रहेका छन् । यस्तै सल्लाकार समिति पनि बनाएको छ । सल्लाहकार समितीको संयोजकमा मनिराज लिम्बू छन् । अन्य सदस्यहरूमा दिनेश श्रेष्ठ, चन्द्र मगर, विवेक लिम्बू, मन बहादुर राई, महेन्द्र गोले, तिलक गहतराज, भरत लिम्बू, तिलमाया भट्टराई र अनिल श्रेष्ठ छन् ।

संगठित भएका पूर्व विद्यार्थी, शिक्षक र स्थानिय अभिभावकहरूले लकडाउनको समयमा स्कूलको भौतिक संरचना स्तरउन्नती गरि विद्यालय चिटिक्क बनाएका छन् । विद्यालय परिसर भित्र र बाहिर रंङरोगन गरि अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने विद्यालय बनाएका छन् ।

‘स्कूलको भौतिक संरचनाहरू स्तरउन्नती भएको छ,’ पूर्व विद्यार्थी संगठनका अध्यक्ष बराईलीले भने, ‘अबको हाम्रो उद्देश्य भनेको विद्यालयको गुणस्तर सुधार गर्ने हो र अभिभावकको मन जित्ने हो । यसको लागि सबै शिक्षक, अभिभावक र विद्यार्थीहरू एक जुट हुन जरूरी छ ।’ गुणस्तरीय शिक्षा प्रदान गरि सरस्वती स्कूललाई नमुना विद्यालयको रूपमा स्थापित गरिनुपर्ने पूर्व विद्यार्थीहरू बताउँछन् ।

कक्षा तीनसम्म अग्रेंजी माध्यमबाट पठनपाठन
२०४४ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म पठनपाठन हुने गरेको छ । यही नयाँ शैक्षिक शत्रदेखि कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरू हुने स्कूलका प्रधानाध्यापक चन्द्र मगरले जानकारी दिए । तीन जना शिक्षकको दरबन्दी रहेको विद्यालयमा २ जना करारका निजी स्रोतका शिक्षक रहेका छन् । अंग्रेजी माध्यमबाट पठनपाठन सुरू गरि गुणस्तरीय शिक्षा प्रदान गर्न यही शैक्षिक शत्रदेखि थप २ जना निजी स्रोतमा २ जना शिक्षक राख्ने तयारी सुरू भएको छ । यसको लागि पूर्व विद्यार्थीहरूले सहयोग कोष स्थापना गरेका छन् ।

उक्त कोषमा २ लाख संकलन भएको छ । गुणस्तर सुधार अभियान पूर्व विद्यार्थीहरुले चलाएपछि सोही स्कूलमा अध्ययन गर्ने भूतपूर्व विद्यार्थी, व्यवसायी, समाजसेवीहरूले सहयोग गर्दै आएका छन् । विद्यालयको भौतिक संरचना स्तरउन्नतीमा संकलन भएको मध्ये ९५ हजार रुपैयाँ खर्च भएको अध्यक्ष बराईलीले जानकारी दिए । गुणस्तर सुधार गर्न थप दुई जना निजी स्रोतमा शिक्षक राखिने भएकोले पूर्व विद्यार्थीहरूले सम्पूर्ण महानुभवाहरूलाई सहयोगको पनि अपिल गरेका छन् ।