• धनबहादुर पुरी

इटहरी/ नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रमा हरेक दिन बिहान १० नबज्दै नागरिकको घुइँचो लाग्छ । सर्वसाधारणहरूले महसुल तिर्न लाइनमा धेरैबेर कुर्नु पर्छ । तर अहिले अधिकांश ग्राहकहरूले भने विद्युत् प्राधिकरणको बिलिङमा चित्त बुझाएका छैनन् ।

इटहरीमा रहेको हिमालयन बैङ्क शाखा इटहरीका प्रमुख सुनिल शर्माले असार महिनाको बिजुलीको बिल अरू बेलाको भन्दा धेरै आएको बताए । शर्माले फागुन महिनामा दिनभर कार्यालय खोल्दा महिनाको ३५ हजारको बिल आएको थियो । चैतमा १३ दिन कार्यालय खोल्दा पनि ३५ हजारकै बिल आएको उनी बताउँछन् ।

वैशाखमा ७ दिन कार्यालय दिनको २ घण्टा खोल्दा पनि अघिल्लै महिनाजस्तो ३५ हजारकै बिल आएको शाखा प्रमुख शर्मा बताउँछन् । जेठ महिनामा १५ दिन कार्यालय खोल्दा पनि ३५ हजारकै बिल आएको र अहिले असारमा एकैचोटी ७० हजारको बिल आउँदा आफूहरू अचम्ममा परेको बताउँछन् । ‘खै, कसरी यस्तो बिल आयो ?’–उनले प्रश्न गरे ।

यो समस्या हिमालयन बैङ्कको मात्र होइन, अरू सेवाग्राहीको पनि उस्तै नै छ । हरेक दिन यस्तै बढी रकम उठ्यो भनेर बुझ्न जानेहरूको सङ्ख्या प्राधिकरणमा धेरै छ । दुई महिना पहिलासम्म महिनाको बिजुलीको महसुल २ सय रुपैयाँ जति तिर्ने इटहरी–१९ का कमल गिरीको पनि यो महिना एक हजार ४ सय बढी रकमको बिल आयो । यसरी बिल आएपछि उनी अचम्ममा परेका छन् । यो महिना प्राधिकरणको बिलिङमा लापरबाही भएको उनको आरोप छ ।

अहिले बिजुलीको बिल धेरै आएको बताउँछन् इटहरीका व्यवसायी विशाल बास्तोला । पवित्रम ट्रान्स इकोनमिकका सञ्चालकसमेत रहेका व्यवसायी बास्तोलाले अन्य बेलाको भन्दा धेरैको बिल आएको बताउँछन् । महसुल एकैचोटी महिनाको १८ हजार आएपछि आफूहरू अचम्ममा परेको बास्तोलाले बताए । बास्तोला भन्छन्, ‘यो पटक प्राधिकरणले बिलिङमा हेल्चेक्र्याइँ गरेको छ ।’

यता नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार बैदारले कार्यालयमा गुनासो आइरहेको बताए । प्राधिकरणमा लकडाउनपछि बिजुलीको बिलको रकमको विषयमा अलि बढी समस्या देखिएको उनको भनाइ छ । १० हजार ग्राहकको धेरै कम बिल आएको र २ देखि ३ हजार ग्राहकको बढी बिल आएको उनी बताउँछन् ।

‘बीचमा हामीले अघिल्लो महिनाको बिललाई आधार बनाएर रकम लिएका थियौँ’ बैदारले भने, ‘पछि बिल काट्दा बढी देखिन आएपछि धेरैलाई अन्योल भएको देखियो ।’ फागुन महिनाको बिलको आधारमा चैत, वैशाख र जेठ महिनाको बिल काटिएको उनी बताउँछन् । लकडाउनमा बिल पुर्याउन नसकेको कारण अधिकांश ग्राहक अल्मलमा परेको भन्दै अहिले बढी बिल तिर्नेहरूको रकम अर्को महिना मिलाइने बताए ।