- रमेश थापा
यासोक/ तमोर तटीय क्षेत्रका नागरिक सडककै कारण बर्सेनि सास्ती भोग्न बाध्य छन् । बाढी पहिरोको त्रासमा दिन कटाउन बाध्य उनीहरू सवारी साधन आवत–जावत नहुँदा समस्यामा परेका हुन् । नेपाल सरकारले २०७४ सालदेखि तमोर कोरिडोर सडकको काम शुरु गरेको छ ।
दर्जन बढी खोलानाला र चट्टाने भीरका कारण त्यस क्षेत्रका नागरिक बर्सेनि बाढी पहिरोको चपेटामा पर्दै आएका छन् । पाँचथरको गणेशचोकदेखि सुनसरीको चतरा सडक अन्तर्गत पाँचथरदेखि लुम्बुघाटसम्मको क्षेत्रमा यस्तो समस्या देखापरेको हो । हिउँदमा व्यस्त हुने सडक वर्षाको समयमा अवरुद्ध हुने गरेको छ । सडकको दर्जन बढी स्थानमा बाढी पहिरो जाँदा तराईसँगको सिधा सम्पर्क नै बन्द हुने गरेको छ । बाढी पहिरोका कारण पाँचथर, तेह्रथुम, धनकुटाका नागरिकले बर्सेनि सास्ती भोग्दै आएका छन् ।
पाँचथरको गणेशचोकदेखि धनकुटाको मूलघाटसम्म दर्जन बढी खोलानाला छन् । वर्षाको समयमा खोला बढ्न थालेपछि यातायातका साधन ठप्प हुन्छन् । जसको प्रत्यक्ष असर तमोर किनारमा बस्ने नागरिकमा पर्ने गरेको छ । सडकको ट्रयाक खोल्न ठूला पहाड र चट्टान फुटाइएका कारण वर्षामा पहिरो जान्छ । पूर्वी पहाडलाई तराईसँग छोटो दूरीमा जोड्ने एक मात्र सडक तमोर कोरिडोरबाट नागरिकले आधारभूत आवश्यकता पूरा गर्दै आएका छन् ।
तर सडकको धेरै स्थानमा पहिरो र खोलामा बाढी आउँदा सिधा सम्पर्क विच्छेद भएको स्थानीय प्रकाश अधिकारीले बताए । सडकमा पहिरो र खोलामा बाढी आउँदा सुत्केरी गर्भवती र दीर्घरोगीहरूले अस्पताल नै नपुगी बाटैमा ज्यान गुमाउने गरेका छन् भने कतिपयले दुईदेखि तीन दिन पदैल हिँडेर ढिलो अस्पताल पुग्दा ज्यान गुमाउनु परेको अधिकारीको गुनासो छ ।
खोलाको बाढी र सडकमा पहिरोका कारण हप्तौंसम्म सवारी साधन जङ्गलमै रोकिने गरेका छन् । केही दिनअघि मात्रै पाँचथरको तुम्बेवा गाउँपालिका वडानम्बर २ कोप्चेका नरबहादुर लावती दम रोगबाट ग्रसित भएका थिए । उनलाई पानी झरीमा मोरङको नोवेल अस्पताल लगियो तर ढिलो भएका कारण उनको मृत्यु भयो । खोलामा बाढी आएका कारण उनलाई बोकेर दुई दिनपछि मात्र अस्पताल पु¥याइएको थियो । त्यो समयसम्ममा धेरै ढिला भइसकेको थियो । अन्ततः उनले ज्यान गुमाउनु प¥यो । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यसअघि पनि सोही सडकमा धेरैले ज्यान गुमाएका छन् ।
तेह्रथुम, पाँचथर र धनकुटाको सङ्गमस्थलमा रहेको नयाँ खोला सडकको मुख्य चुनौती बनेको छ । त्यस्तै धनकुटाको चौबिसे गाउँपालिकाको छरुवा खोला र सडकका धेरै स्थानमा जाने पहिरोका कारण त्यस भेगका नागरिक पीडामा छन् । समयमै ठेकेदार कम्पनीले खोलामा वैकल्पिक व्यवस्था नगर्दा यसको असर नागरिकमा परेको पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताए । ‘खोलाको अवरोधका लागि निर्माण व्यवसायी, जनप्रतिनिधि र जिल्लाका सुरक्षा प्रमुखले चासो दिएको हो, तर तत्काल यो विषयमा निष्कर्षमा नपुग्दा समस्या देखापरेको छ’ थापाले भने, ‘यो विषयमा थप पहल भइरहेको छ । प्रदेश सरकारलाई पनि जानकारी गराएका छौं । यो समस्या चाँडै हल हुन्छ भन्ने लागेको छ ।’
देशकै गौरवको आयोजना भनिएको तमोर कोरिडोर सडकमा सात वटा प्याकेजमा काम हुँदै आएको छ । जसमा सातवटा निर्माण कम्पनीले काम गर्दै आएका छन् । ६ अर्ब २३ करोड ४९ लाख रुपैयाँको लागतमा २०७४ सालदेखि योजनाको काम शुरु भएको थियो । पाँचथरको गणेश चोकदेखि धनकुटाको मूलघाटसम्म १ सय १२ किलोमिटर सडकमा धमाधम काम हुँदै आएको छ । तर लकडाउन र निरन्तरको वर्षाका कारण अपेक्षाकृत काम भने हुन सकेको छैन ।