विराटनगर/ विराटनगर–१७ दरैया बस्तीकी ४५ भुटनीदेवी ऋषिदेव आफ्नो घरमा केसलिया खोलाको बाढी पसेर डुबानमा परेपछि मिल्स माविमा बस्दै आएकी छन् ।

वर्षासँगै खोलामा आएको बाढी बस्ती पसेपछि ऋषिदेवसहित दरैया बस्तीका ६५ घर डुबानमा परेपछि यहाँका ३ सयजना अहिले विराटनगर–१६ रानीस्थित मिल्स माविको भवनमा बस्दै आएका हुन् ।

बाढी छाप्रोमा पसेर भएको अन्न पनि निकाल्न नपाएको भुटनीदेवीले बताइन् । ‘केसलिया खोलाको बाढी बस्तीमा छिरेपछि हामीलाई विस्थापित बनायो’ उनले दुःखेसो पोख्दै भनिन्, ‘खाने अन्न छैन, पकाउने भाँडाकुँडा छैन, ओढ्ने लुगा छैन, कसरी जिउने हामी गरिब मान्छे ?’

आइतबार बिहानदेखि चिउरा र भुजाको भरमा रात काटेको उनले सुनाइन् । ‘आफ्नो घरमा भएको सबै अन्नपात बाढीले बगायो’ उनले भनिन्, ‘अहिले यहाँ सुख्खा भुजा र चिउराले रात कटाउनु परेको छ ।’ समस्यामा परेकोेहुँदा आफूहरूलाई सरकारले राहत दिनुपर्ने उनले बताइन् । ‘हामी त जेनतेन चिउरा र भुजा खाएर भए पनि रात कटाउन सक्छौं’ उनले कचौरामा रहेकोे अलिकति भुजा देखाउँदै भनिन्, ‘यी साना केटाकेटीले कसरी योे भुजाले पेट भर्छन् र ? साना केटाकेटीलाई नरम र पोषिलो खानेकुरा चाहिन्छ ।’

विराटनगर–१२ बखरी स्कुलमा रहेका ३० घरका १ सय ५० जना बाढीपीडितको समस्या पनि उस्तै छ । यहाँ रहेका बाढीपीडित विराटनगर–१२ बखरी सिमराहीका हुन् । आइतबार विराटनगर महानगरपालिका र वडा कार्यालयले दिएको भुजा र चिउराले रात काटेको बाढीपीडित फुदन मल्लिकले बताए । ‘घरमा बाढी पसेपछि जान सक्ने अवस्था छैन । बखरी स्कुलमा आएर बसेको एक दिन भयो ।

पहिलो दिन चिउरा र भुजा खाएर राट काट्यौं’ उनले भने, ‘अहिले के खाने टुङ्गो छैन ।’ भारतसँग सीमा जोडिएको विराटनगरको दरैया आसपासको क्षेत्रमा बसोबास गर्दै आएका दलित मुसहर समुदाय बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

साँघुरो जमिनमा बनाएको छाप्रो घर, बनिबुतो गरेर जोहो गरेको खाद्यान्न, चामल, नुन, तेल, तरकारी, लुगाकपडासहित जीविकोपार्जनका निम्ति पालेका गाई–भैंसी, खसी–बाख्रा, कुखुरा र खेतीपातीसमेत बगाएपछि बिचल्लीमा परेका छन् । महानगरका अधिकांश बाढीपीडित परिवार चिसो भुईंमा सुत्न बाध्य छन् । भुईंमा सुत्न वृद्धवृद्धा, बालबालिका र सुत्केरीलाई निकै कठिनाइ भएको बाढीपीडितले बताए ।

बर्सेनि केसलिया खोलाबाट मनोमानी रूपमा अवैध उत्खनन् गर्दा वर्षायाममा विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका बस्तीले सास्ती खेप्नु परेको छ । वर्षा शुरु भएसँगै केसलिया खोलाले धार परिवर्तन गरी बस्तीमा बाढी पस्दा विराटनगर महानगरपालिकाको सयौं घर डुबानमा परी विस्थापित हुने गरेका छन् ।

शनिबार रातिदेखिको वर्षाको कारण केसलिया खोला विराटनगर–६ ब्रह्मापुराबाट पस्दा विराटनगर–१२ को बखरी, सिमराही र विराटनगर–१६ को दरैया बस्तीका गरी ९५ घर डुबानमा परी ४ सय ५० जना विस्थापित भएको मोरङ प्रहरीले जनाएको छ ।
प्रशासन र स्थानीय सरकारले केसलिया खोलामा अवैध रूपमा हुने उत्खनन् रोक्न नसक्दा र मजबुत रूपमा तटबन्धन गर्न नसक्दा वर्षायाममा जनधनको क्षति हुने गरेको स्थानीयको भनाइ छ ।

Badai-padit-2