इटहरी/ प्रदेश १ मा बाढी पहिरो तथा पानीमा डुबेर ५१ जनाको मृत्यु भएको छ ।

२०७७ असार २८ गते सुनसरी वराहक्षेत्र नपा–६ बोराबाँधस्थित कोशी किनारमा दाउरा खोज्ने क्रममा १३ वर्षीय अनिल बस्नेतलाई कोशी नदीले बगायो । सधैँ झैं दाउरा झिक्ने क्रममा उनको अल्पायुमै मृत्यु भयो ।

असार २८ गते नै सङ्खुवासभा सिलिचोङ गा.पा. वडा नं. १ स्थित बेसिन्दा भन्ने ठाउँमा अविरल वर्षाको कारण पहिरो गई ८ घर बगाउँदा ११ जना मानिस बेपत्ता भएका छन् । असार २७ गते झापा भद्रपुर नपा–३ नाउगाटस्थित मेची खोलामा नुहाउने क्रममा हिरण राईलाई खोलाले बगाई बेपत्ता बनायो । उनको शव पनि भेटिएको छैन ।

ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदीले बगाएर ३ जना बेपत्ता भएका छन् । ५७ वर्षीय कालुमान ताप्मादेन लिम्बूलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पु¥याई बेपत्ता भए । पछिल्लो केही दिनयता पूर्वी नेपालमा बाढी पहिरोको प्रकोप बढेको छ ।

तेह्रथुम आठराई गाउँपालिकाका सन्तोष तामाङ र रञ्जित शेर्पालाई पनि तमोर नदीले बगाउँदा बेपत्ता भएका छन् । यो सँगै प्रदेश १ मा पानीमा डुबेर, खोलाले बगाएर र बाढी पहिरोको कारण ४८ जनाको मृत्यु भएको छ । गत चैतयता ४८ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कले देखाउँछ ।

सुनसरीमा पानीमा डुबेर तथा बगाएर चैतयता ६ जनाको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सेउती खोलामा धरानका रामबहादुर बस्नेतको शव भेटियो । त्यस्तै बूढी गाउँपालिकाका बब्लु भनिने बलराम ऋषिदेब घरनजिकैको खोलामा बेपत्ता भएपछि मृत भेटिएका छन् ।

इनरुवाका रामलाल उरावको पनि खोलामा डुबेर मृत्यु भयो । देवानगञ्जकी लक्ष्मीकुमारी यादव, शिवराज मेहेता र करण ऋषिदेवको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलले जनाए ।

बाढी पहिरोको कारण पूर्वी नेपालमा करोडौंको क्षति भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पूर्वी नेपालको पहाडी जिल्लासँगै तराईका जिल्लाहरूमा समेत बाढीको प्रकोप बढेको भन्दै सचेत रहन प्रहरीले आग्रह गरेको छ । तराईका धेरै ठाउँमा डुबान समेत भइरहेको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको हो ।