• मिकाइल आलम

भण्टाबारी/ केही दिनयता निरन्तर पानी पर्ने क्रम जारी रहेसँगै सुनसरीको कतिपय क्षेत्र डुबानमा परेका छन् । जिल्लाको कोशी गाउँपालिका वडानम्बर ८ स्थित कोशी ब्यारेजका दुई दर्जन बढी घरमा पानी पसेको छ भने एक परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

सप्तकोशीमा पानीको बहाव बढ्दा कोशी ब्यारेज क्षेत्रका २५ घरमा पानी पसेको छ भने स्थानीय छेदु मण्डलको परिवार विस्थापित हुँदा स्थानीय कोशी आधारभूत विद्यालयमा राखिएको छ । शुक्रबारदेखि निरन्तर वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहाव बढ्दा स्थानीय बलराम मण्डल, रामपृत मण्डल, अजय मण्डल, जैमुल खातुन, कनिजा खातुन, ब्रह्मदेवकुमार मण्डललगायत २५ जनाको घरमा पानी पसेको हो ।

शुक्रबार घरमा पानी पसेपछि आफूहरूले घरको सबै सामान अन्तै सारेको स्थानीय ब्रह्मदेवकुमार मण्डलले बताए । कोशी ब्यारेजको नहरको पानी आफूहरूको घरमा पसेको बताउँदै मण्डलले तत्काल घरमा बस्ने अवस्था नभएपछि छिमेकीकोमा बसेको बताए ।

१२ सदस्यीय परिवारसहित अर्काको घरमा बस्नुपर्दा समस्या भएको उनले सुनाए । दुई वर्षदेखि कोशी ब्यारेजका २ सय ५० घरपरिवारलाई नहरको पानीले डुबानमा पार्ने गरेको कोशी गाउँपालिका वडानम्बर ८ की वडासदस्य एकावरीदेवी मण्डलले बताइन् । अघिल्लो वर्षसमेत स्थानीयवासी डुबानमा परे पनि रोकथाम गर्न कुनै ठोस योजना नबनाएकोमा उनले गुनासो गरिन् । डुबान हुनबाट स्थानीयलाई जोगाउन र उद्धार कार्यलाई तीव्रता दिन मण्डलले आग्रह गरेकी छन् ।

यस्तो छ पूर्व तयारी
जिल्ला प्रशासन कार्यालय सुनसरीले गढी, बर्जु, भोक्राहा नरसिंह गाउँपालिका र रामधुनी नगरपालिकालाई बाढीको सम्भावित उच्च जोखिम क्षेत्रको रूपमा राखेको छ भने इटहरी उपमहानगरपालिका, इनरुवा र दुहबी नगरपालिका र कोशी गाउँपालिकासहितका क्षेत्रलाई कम जोखिम क्षेत्रको रूपमा राखेको जिल्ला प्रशासन कार्यालय सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

बाढी आउन सक्ने क्षेत्रको पहिचान गर्दै सतर्कता अपनाइएको उनको भनाइ छ । वर्षा लागेपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार सुरक्षाका सबै निकायलाई सतर्क अवस्थामा राखेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । यसैगरी स्थानीय निकायका साथै विपद् क्षेत्रमा काम गर्ने विषयगत कार्यालय, विभिन्न सङ्घ–संस्था, स्थानीय विपद् व्यवस्थापन समितिलाई पनि हाई अलर्टमा राखिएको छ ।

लगातार पानी पर्ने क्रम जारी रहेकोले जिल्लाभरि उच्च सतर्कता अपनाइएको निमित्त प्रजिअ पोखरेलले बताए । ‘जिल्लाका हरेक स्थानीय तहमा सुरक्षा निकाय, स्थानीय विपद् व्यवस्थापन समिति सबैलाई हाई अलर्टमा राखेका छौँ’ उनले भने, ‘तर, त्रसित हुनुपर्ने अवस्था छैन अहिले ।’ जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार १२ वटै स्थानीय तहलाई राहत तथा उद्धारका लागि सामग्री तयार राख्न निर्देशन दिएको बताइएको छ ।

विभिन्न स्थानीय तहमा रहेको जोखिमको आधारमा उद्धार तथा राहतका सामग्री र स्थानीय विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको पोखरेलले जानकारी दिए । ‘प्रभावित हुने क्षेत्रमा स्थानीय तह र स्थानीय संयन्त्रलाई राहत र उद्धारका लागि तयारी अवस्था बस्न निर्देशन दिएका छौँ’–उनले भने । यसैबीच कोशी ब्यारेजमा शनिबार बिहान ८ बजेको पानीको बहाव २ लाख ७१ हजार ३ सय ७० क्युसेक प्रतिसेकेण्ड मापन गरिए पनि साँझपख पानीको बहाव घटेको छ । शनिबार साँझ ४ बजेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव २ लाख ४३ हजार १ सय ९० क्युसेक मापन गरिएको थियो ।