इटहरी / दुर्घटनामा घाइते भई आर्थिक अभावले समस्यामा परेका इटहरी–२० तरहराका गणेश राईलाई हङ्कङ–तरहरा मञ्च हाँसपोसाले सहयोग गरेको छ ।
९ महिनाअघि दुर्घटनामा घाइते भई खर्च अभावमा अस्पतालमा छट्पटाइरहेका इटहरी– २० तरहराका गणेश राईलाई १ लाख ६५ हजार सहयोग गरेको हो । खर्च अभावमा अस्पतालबाट डिस्चार्ज हुन नपाएका राईलाई हङ्कङ–तरहरा हाँसपोसा मञ्चले १ लाख ६५ हजार सहयोग गरेको हो । विराटनगरस्थित गोल्डेन अस्पतालमा करिब ६ महिना अगाडिबाट गणेश राईको उपचार भइरहे पनि आर्थिक अभावका कारण उनको अहिलेसम्म डिस्चार्ज भएको छैन ।
गत कात्तिकमा टेम्पो दुर्घटनामा घाइते भएका राईको उपचार खर्च तिर्न नसकेका कारण समस्यामा रहेको पीडित परिवारले बताउँदै आएको छ । इटहरी–२० तरहराका वडाध्यक्ष मणिराम श्रेष्ठको पहलमा तरहरा निवासी कालसिंह राईले हङ्कङमा रहेका तरहरावासीसँग सहयोग सङ्कलन गरी रकम पठाएका हुन् । आइतबार हङ्कङ–तरहरा मञ्चका तरहरा अध्यक्ष शिवु रुम्दाली राई, इटहरी–२० का वडाध्यक्ष मणिराम श्रेष्ठलगायत स्थानीय युवाहरूको सहभागितामा पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण गरेसँगै परिवारमा केही राहत मिलेको वडाध्यक्ष श्रेष्ठ बताउँछन् । ‘हामीले समस्यामा परेको राई परिवारलाई सहयोग जुटाउने काम गरिरहेका छौं’ –वडाध्यक्ष श्रेष्ठले भने ।
यस्तै अष्ट्रेलियामा बसोबास गर्ने तरहरावासीले १ लाख ४३ हजार एक सय २८ रुपैयाँ पीडितको खातामा जम्मा गरिदिएका छन् । अमृता राई, भविन चाम्लिङ, दोर्ण न्यौपानेलगायतको नेतृत्वमा उक्त रकम सङ्कलन भएको थियो ।