धरान / प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल कालापानी क्षेत्र पुगेका छन् ।
भारतीय सुरक्षा निकायले यसलाई नजिकबाट नियालेको बताइएको छ । भारतीय सञ्चारमाध्यमले थापा र खनाल कालापानी क्षेत्रमा पुगेको विषयलाई प्रकाशन तथा प्रशारण गरेका छन् ।

इन्डियन एक्सप्रेसले नेपालको राष्ट्रियसभाले नेपालको नयाँ नक्शा समेटेको निशान छाप अनुमोदन गर्न संविधान संशोधन प्रस्ताव पारित गर्नै लाग्दा सेनापति सशस्त्रका आइजीपीसहित कालापानी नजिकैको छाँगरुमा पुगेको भनेको छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि भारत असन्तुष्ट रहँदै आएको छ । संसदबाटै यसको अनुमोदन प्रक्रिया बढेपछि भारतले वार्ताको वातावरण बिग्रिएको सन्देश दिइरहेको छ ।