काठमाडौँ ।  चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्नु अघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए । तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको हो । रुपन्देहीको बेलहिया नाकाबाट भारतीय सेनामा भर्ती भएका १८ जना गोर्खा रेजिमेन्ट सैनिकहरु भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी दिए ।

दुई दिनदेखि गोर्खाली सेना नेपालबाट भारत प्रवेश गर्न थालेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । नेपाल–भारत बोर्डरमा उनीहरूको थर्मल स्क्यानिङ भएको थियो ।

यता काकारभिट्टा, जोगमनी नाकाबाटसमेत गाडी रिर्जव गरेर भारतीय गोर्खाली सेना फर्कन थालेका छन् ।
भारतीय सेनामा १ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । गोर्खा रेजिमेन्टअन्तर्गत भारतीय सेनामा कार्यरत नेपालीहरू सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि चीन र पाकिस्तानसँग जोडिएको नाकामा अत्याधिक मात्रामा कार्यरत छन् ।

भारतमा नेपाली सेनाको उपस्थिति सन् १८१५ देखिको मानिन्छ, जब ब्रिटिश सत्तासँग नेपालको कुमाउँमा हार भएको थियो । सन् १९४७ मा ब्रिटिश शासकले भारतलाई सत्ता सुम्पिएर जाँदा गोर्खाली सेनाको चार रेजिमेन्ट आफूले र भारतलाई ६ रेजिमेन्ट छोडेर गएका थिए।त्यो बेलादेखि नै नेपालीहरू भारतीय सेनामा कार्यरत छन् ।