दमक/झापामा कोरोना भाइरसको इपिसेन्टरका रूपमा चिनिएको कचनकवल गाउँपालिकाले आफ्नो कामहरू कार्यालय बाहिरबाट गरिरहेको छ ।
कोरोना भाइरसको पोजेटिभ देखिएकै दिन गाउँपालिका शिल गरेपछि गाउँपालिकाको कार्यालय पनि बन्द छ । गाउँपालिका बन्द भए पनि गाउँपालिकाको अति आवश्यक सेवा र काम भने गाउँपालिकाभन्दा करिब २ सय मिटर पूर्व रहेको एक निजी घरको एउटा कोठाबाट सञ्चालन हुँदै आएको छ ।
कचनकवल गाउँपालिकाको बनियानी बजारको एक घरमा स्वास्थ्य शाखाको काम हुनेलगायत अन्य महत्त्वपूर्ण बैठक तथा छलफल हुने गरेको गाउँपालिका अध्यक्ष अञ्जरा आलमले बताए । उनका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले समयसापेक्ष विभिन्न निर्णयहरू गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक बैठक तथा छलफल गर्न सो घरको कोठा भाडामा लिइएको अध्यक्ष आलमले बताए ।
गाउँपालिका सञ्चालन भएको बेला जस्तोसुकै पनि मानिसहरू आउने भएकाले कार्यालय बन्द गरेर बाहिरबाटै काम गरिरहेको छ । जहाँ एउटा फराकिलो कोठा छ । एउटा कम्प्यूटर र प्रिन्टर । दुई वटा टेवल र दर्जन जति कुर्सी । यहीँ गाउँपालिकामा आवश्यक पर्ने अति आवश्यक कुराहरूको निर्णय हुन्छ । ती निर्णयलाई कम्प्यूटरमा टाइपिङ गरेर सार्वजनिक गर्ने काम गरिएको छ । साथै अति आवश्यक र महत्त्वपूर्ण कुरामा तयार पारिने विभिन्न पत्रहरूको दर्ता तथा चलानी पनि यही कोठाबाट हुन्छ । त्यसका लागि आवश्यक पर्ने गाउँपालिकामा सबै प्रकारका छाप तथा स्ट्याम्पहरू यहीँ ल्याइएको छ ।
यहाँबाट स्वास्थ्य शाखाका कामहरू पनि हुने गरेको छ । गाउँपालिकामा कोरोनाको उच्च जोखिम रहेका कारणले गर्दा गाउँपालिकाको अन्य शाखाभन्दा बढी चलायमान शाखा हो स्वास्थ्य शाखा । शाखा प्रमुख जागेश्वरप्रसाद यादवको नेतृत्वमा यहाँ काम भैरहेको छ । गाउँपालिकाका सबै वडाका स्वास्थ्यकर्मीहरूलाई आवश्यक निर्देशन दिने काम हुन्छ । उनीहरूको आवश्यकता बारे सहजीकरण गर्ने, नागरिकलाई स्वास्थ्यका बारेमा दिनुपर्ने महत्त्वपूर्ण जानकारी तथा सूचना, साथै गाउँपालिकामा आएका स्वास्थ्य सामाग्रीको व्यवस्थापन, आवश्यकीय ठाउँमा पठाउन र पु¥याउनका लागि यस कार्यालयबाट काम हुने गरेको स्वास्थ्य शाखा प्रमुख यादवले बताए ।
भारतबाट नियमित रूपमा गाउँपालिका प्रवेश गर्नेहरूलाई कसरी सुरक्षित राख्ने, स्वास्थ्य सामाग्री केके दिने त्यसको माग र आपूर्तिलाई कसरी व्यवस्थित गर्ने भन्नेबारेमा निर्णयहरू गरेर कार्यान्यावनसमेत यही कार्यालयमार्फत् हुने गरेको उनले सुनाए । गाउँपालिकामा अहिले ३३ जना कोरोना भाइरस संंक्रमित देखिएका छन् । २४४ जना भारतबाट गाउँपालिका प्रवेश गरेका छन् । उनीहरूको स्वास्थ्य परीक्षण भैरहेको र नतिजा पनि आउने काम भैरहेको यादवले जानकारी दिए ।
शिल पछि देखिएको गाउँपालिका
गाउँपालिका अहिले शिल छ । शिल गरिएपछि लकडाउनका बेला निश्चित समयमा अति आवश्यकीय सामाग्रीको बिक्री वितरणका लागि खुल्ला गरिएका पसलहरू पनि बन्द छन् । नागरिकहरूको आवतजावत पूर्ण ठप्प छ । सडकमा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ । नागरिकलाई केही कुराको आवश्यक परेमा सम्बन्धित वडाका जनप्रतिनिधि वा सुरक्षाकर्मीलाई खबर गर्न अनुरोध गरिएको छ ।
अनुरोध पछि जनप्रतिनिधि र सुरक्षाकर्मीले आवश्यक सुरक्षा अपनाएर नागरिकका आवश्यकता पूरा गरिदिने अध्यक्ष आलमले बताए । यो बेलामा सीमा नाकामा आएका आफ्ना आफन्तलाई उतै बस्न गाउँलेलाई आग्रह गर्न पनि गाउँपालिकाले अनुरोध गरेको छ । बरू सीमा नाकामा बस्दा खान समस्या भए सम्बन्धित परिवारसँगको समन्वयमा गाउँपालिकाले आफै खाना पु¥याई दिनेसमेत भएको छ । कोभिड १९ बाट गाउँलाई बचाउन गाँपालिकाले गरेको निर्णयलाई सबैले पालना गर्न समेत उनले अनुरोध गरे ।