धरान । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५ लाखभन्दा बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

बीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई स्वास्थ्य सामग्री बेल्फेयरका अफिसर क्याप्टेन पूर्णप्रसाद लिम्बूले हस्तान्तरण गरे । विश्वभरि फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा चाहिने अतिआवश्यकीय उपकरण वितरण गरिएको क्याप्टेन लिम्बूले बताए । उनका अनुसार ४ वटा ह्याण्ड वास पोइन्टसहित विभिन्न स्वास्थ्य उपकरण प्रदान गरिएको हो ।

ट्रष्टले प्रदेश १ का विभिन्न अस्पताल तथा संस्थालाई सहयोग गर्दै आइरहेको छ । अब पहाडी जिल्लाका गाउँपालिकमा सहयोग गरिने योजनामा रहेको क्याप्टेन लिम्बूले बताए । डिएफआइडीको आर्थिक सहयोगमा गोर्खा वेल्फेयर ट्रष्ट नेपालको ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम अन्तर्गत १२ प्रकारका स्वास्थ्य उपकरण उपलब्ध गराइएको ग्रामीण खानेपानी तथा सरसफाइ विभागका पूर्व क्षेत्रिय कार्यालयका प्रमुख बुद्घबहादुर गुरूङले बताए ।

ट्रष्टले एन ९५ मास्क, आइआर थर्ममिटर, मेडिकल गाउन, सर्जिकल मास्क, ग्लोभ्स, सेनिटाइजर, ह्याण्ड वास, वासिङ लिक्विड, रबर बुट, ५ सय लिटर क्षमताको ट्यांकीसहित ह्याण्ड वास पोइन्ट जडान गरिदिएका छन् ।
प्रतिष्ठानका उपकुलपति डा. गिरीले आपतकालीन अवस्थामा गोर्खा वेल्फेयरको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै अस्पतालका लागि सम्पूर्ण स्वास्थ्य सामाग्रीहरू निक्कै उपयोगी भएको बताए ।