देउराली । विराटनगरकाे रानी भन्सार नाका हुँदै धरान आइपुगेका एक भारतीय नागरिकलाई बीपी प्रतिष्ठानकाे क्वारेन्टाइनमा पठाइएकाे छ । 

आइतबार धरान ७ स्थित राम मन्दिर नजिकै फेला परेका उनलाई धरान उपमहानगरपालिकाकाे समन्वयमा  बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठनकाे क्वारेन्टाइनमा पठाइएकाे धरान उपमहानगर पालिकाका मेयर तिलक राइले बताए । 

उनले भने, 'हिजाे मात्रै आइपुगेकाे रहेछ । साेधपुछ गर्दा काम काे खाेजीमा आएकाे बताएकाे छ ।  कसैले कामका लागि बाेलाएकाे वा ल्याएकाे हाे कि भन्ने वहाँसँग अरू ४ जना पनि आएकाे बताएका छन् । अरूकाे खाेजी गर्न इलाका प्रहरी कार्यालयलाई जानकारी गराइएकाे छ ।' 

ति व्यक्ति राम मन्दिर र पानबारी बस स्टेण्डकाे आसपासमा घुमिरहकाे देखेपछि वडाबाट कार्यालयबाट  उपमहानगरमा जानकारी गराइ एम्बुलेन्समा हालेर प्रतिष्ठानकाे क्वारेन्टाइनमा लगिएकाे ७ नम्बर वडाका वडाध्यक्ष  जीवन सुबेदीले बताए । उनले भने 'ति मानिसलाई साेध्दा जाेगवनीबाट सानाे गाडीमा  ५ जना आएकाे भनेका छन्, तर तिनीहरू कहाँ छन्  भन्ने खुलेकाे छैन प्रहरीलाई खाेज्न भनिएकाे छ । लकडाउनकाे उल्लंघन गर्दैबिना पास पनि गाडीहरू चलिरहेका छन्, विराटनगर धरान कुद्ने यस्ताखाले गाडीहरूमा भारतीयहरू धरान आइरहेका छन् भन्ने  सुन्दै आएका छाैं । मेयर सा'वलाई पनि याे कुराकाे जानकारी गराएका छाैं ।'

सुबेदीले भारतबाट आएका ती मानिसमा काेराेना संक्रमण नभएकाे भन्ने जानकारी आएकाे बताए पनि बीपी प्रतिष्ठानका सहप्रवक्ता अशाेक ऐरले पिसिआर परीक्षणकाे रिपाेट नआइसकेकाे बताए । उनले भने 'प्रतिष्ठनमा पिसिआर परीक्षण मात्र हुन्छ त्यकाे रिपाेर्ट आउन समय लाग्छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत नगरपालिका, वडामा आरडिटी परीक्षण गर्ने गर्नुहुन्छ । त्यकाे जानकारी हामीलाई हुँदैन ।'