धरान । धरान–३ भृकुटीपाखामा दुई युवामाथि भएको खुकुरी प्रहारमा ‘मापासे’ का कारण विवाद उत्पन्न भएपछि आक्रमण भएको पाइएको छ ।
मंगलबार राति करिब साढे ८ बजेतिर स्थानीय विजय तामाङले आफ्नै साथीसमेत रहेका उत्तम र सन्दीप तामाङमाथि खुकुरी प्रहार गरेका थिए । १०–१२ जनाको समूहले विजयलाई खेदाउँदै लगेपछि करिब ३ सय मिटर पर पुगेपछि उत्तम र सन्दीपमाथि विजयले प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका थिए । उत्तम र सन्दीपमाथि सामान्य चोट लागेको थियो ।
आरोपित विजयलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । इप्रका धरानले घटनाको विषयमा बुझ्ने क्रममा उनीहरूको विवादको विषय मापासे बन्न पुगेको सोधपुछका क्रममा बताएको प्रहरीले जनाएको छ । सुरुमा मोबाइलको विषयमा विवाद भए पनि त्यसपछि मापासे ल्याउन लगाएपछि सोह विषयको विवाद बढेपछि एकअर्काबीच आक्रमणको स्थिति सिर्जना भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
यिनीहरू तीनै जना विजुली मर्मतको काम गर्दै आएका व्यक्ति हुन् । विजयको एउटा सानो छोरोसमेत रहेको छ । आक्रमण गर्नुपर्ने ठूलो कारण देखिएको छैन । मापासेको सामान्य विवादले नै एकअर्काबीच हानाहानको स्थिति सिर्जना भएको देखिने डिएसपी न्यौपानेले जानकारी दिए । प्रहरीले उक्त घटनामा कारबाही प्रक्रिया अगाडि बढाइरहेकाे छ ।