धरान । धरान–३ भृकुटीपाखामा मंगलबार राति साढे ८ बजे भएको घटनामा खुकुरी प्रहारका आरोपित विजय तामाङलाई नै युवाको समूहले खेदेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

करिब तीन सय मिटर ओरालो खेदेपछि आरोपित विजयले आक्रमण गरेका थिए । जसमध्ये २४ वर्षीय सन्दीप तामाङ र २५ वर्षीय उत्तम तामाङको कम्मर र छातीको भागमा चोट लागेको थियो । सामान्य घाइते भएका उनीहरू उपचारपछि घर फर्किएका छन् । ‘१०–१२ जना भएर विजयलाई खेद्दै गरेको देखियो, विजय अगाडिअगाडि थियो, त्यसपछि हानाेहानाे भन्ने सुनियाे’–ति प्रत्यक्षदर्शीले फोन सम्पर्कमा भने । उनका अनुसार घटना भइसकेपछि तत्कालै अस्पताल लानु भनेर भनियो र उत्तम र सन्दीपलाई मोटरसाइकलमा अस्पताल लगिएको थियो ।

ति प्रत्यक्षदर्शीका अनुसार घटनाको विवादको विषयमा भने आफूलाई कुनै पनि जानकारी नभएको बताए । ‘एक्कासी एक हुल युवाले खेद्दै आएको देखियो, के विषयमा विवाद थियो त्यो त मलाई थाहा भएन’–उनले भने । जानकारका अनुसार आरोपित विजय इलेक्ट्रिक काम गर्दै आएका थिए । उनको एक जना ५ वर्षको हाराहारीको एउटा छोरोसमेत रहेको छ । आरोपित युवा र घाइते हुने युवाहरूको घर करिब एक सय मिटरको वरपर रहेको छ । ती युवाहरू छिमेकी हुन् ।

घटनाको विषयमा बुझ्न भृकुटीपाखा टोल विकास संस्था (टिएलओ) का अध्यक्ष जोगेन्द्र विश्वकर्मालाई फोन सम्पर्क गर्दा विजयमाथि युवाहरूले खेद्दै गरेको आफूले देखेको तर, घटनाको यथार्थबारे जानकारी नभएको बताए । आरोपित र घाइते युवाहरू भृकुटीपाखाकै भएकाले आपसी झगडाको कारणका विषयमा प्रहरीको अनुसन्धानबाट मात्रै थाहा हुने बताए । ‘हुरुरु कुदेको देखियो, विजयलाई खेदेका रहेछन्, विजय अगाडिअगाडि कुद्दो रहेछ, पक्रिन खोजे कि के भयो, हानो–हानो भन्थे’ उनले भने, 'किन चाहिँ ति केटाहरूले खेदेँ, किन हान्याे त्याे त प्रहरी अनुसन्धानमै थाहा हाेला ।'

इलाका प्रहरी कार्यालय धरानले आरोपित विजयलाई पक्राउ गरिसकेको छ । प्रारम्भिक सोधपुछको क्रममा प्रहरीलाई मोबाइलका विषयमा विवाद भएको भन्ने जानकारी दिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताएका थिए ।