विराटनगर /  विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट कोरोना भाइरसको संक्रमण परास्त गर्दै ६ जना भारतीय नागरिक डिस्चार्ज भएर क्वारेन्टाइनमा फर्केका छन् ।

अस्पतालमा भर्ना भएको १४ दिनपछि गरिएको दोस्रो र तेस्रो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि बुधबार डिस्चार्ज गरिएको हो ।

उदयपुरको एउटा मस्जिदमा बसेका मुस्लिम धर्म प्रचारक जमाती उनीहरुमा वैशाख ५ गते संक्रमण पुष्टि भएपछि उपचारका लागि विराटनगर ल्याइएको थियो । तीन पटकसम्म कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । प्रदेश १ मा ३१ जनालाई संक्रमण देखिएकोमा ६ जनाले कोरोना जितेका हुन् । डिस्चार्ज गरिएकाहरुलाई तत्काल विराटनगर महानगरपालिकाको रानीमा रहेको रानी मर्कज मदर्शामा राखिएको छ । अस्पतालबाट उनीहरुलाई एम्बुलेन्समा राखेर मदर्शा पु¥याइएको थियो ।

१० वटा कोठा र अलगअलग १० वटा शौचालय रहेको मदर्शा ‘आइसोलेटेड इन्भाइरमेन्ट’को रहेको बताइएको छ । डिस्चार्ज भएसँगै संक्रमितहरु उपचार केन्द्रबाट हाँसीखुसी विदा भएका छन् । डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद छन् ।

डिस्चार्ज भएका मध्ये जैदीले आफूहरुमा स्वास्थ्य सम्बन्धी कुनै समस्या नरहेको बताए । ‘हामीलाई अहिले कुनै समस्या छैन,’ उनले भने, ‘उपचाररत अवस्थामा पनि कुनै औषधि सेवन गर्नु परेन ।’ उपचारका क्रममा व्यवहार राम्रो गरेको र आफूहरुको उपचारमा कुनै कमजोरी हुन नदिएको भन्दै उनले स्वास्थ्यकर्मी र चिकित्सकको प्रशंसा गरे । जैदीले उपचारका क्रममा कुनै असुविधा नभएको र अस्पतालको व्यवस्थापन पनि राम्रो भएको बताए ।

दुनिया कोरोनासँग लडिरहेका बेला आफूहरु समेत संक्रमित भयौं भन्दा थोरै सशंकित भए पनि कुनै डर र त्रास भने उत्पन्न नभएको जैदीको कथन छ । ‘हामीलाईचिकित्सकले राम्रो व्यवहार देखाएर उपचार गरे । निको पनि भयौं,’ उनले भने, ‘सबैलाई धन्यवाद दिन चाहन्छौँ । हाँसीखुसी विदा हुने वातावरण बनेकाले सबैप्रति आभार व्यक्त गर्छौ ।’ नेपाल र भारतमा जारी लकडाउन खुलेपछि आफ्नो मुलुक भारत फर्कने उनको भनाइ छ ।

सामाजिक मन्त्रीद्वारा स्वास्थ्यकर्मीको प्रशंसा

उपचार पश्चात निको भएका संक्रमितको विदाई समारोहमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले संक्रमितहरु कोरोना मुक्त भएकाले डिस्चार्ज गरिएको जानकारी दिए । ‘विश्वले अकल्पनिय परिस्थितिको सामना गरिरहेको छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा डटेर कोरोना संक्रमितको उपचारमा लाग्ने सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई सरकार धन्यवाद दिन चाहन्छ ।’ घिमिरेले कोरोनासँग भिड्न तयार हुँदै कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको भनेर चिकित्सक र स्वास्थ्यकर्मीको खुलेर प्रशंसा गरे । लकडाउन खुलेपछि चिकित्सकको सल्लाह अनुसार संक्रमित भारतीय नागरिकलाई घर फर्कने वातावरण तयार गरिने जानकारी उनले दिए ।

मन्त्री घिमिरेले स्वास्थ्य अवस्था राम्रो होस् भन्दै संक्रमितको पूर्ण स्वास्थ्य लाभको कामना पनि गरे । अन्यत्र कोरोना जित्दै निको भएर घर फर्किएकालाई पुनः संक्रमण देखिएकाले त्यसबाट शिक्षा लिँदै डिस्चार्ज भएकाहरुलाई चिकित्सकको निगरानीमा राखेर उपचार भने जारी राखिने उनको भनाइ छ ।

‘ठूलै युद्ध जिते जस्तो भएको छ’

कोसी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले संक्रमितको उपचार सफल पार्न सकेकोमा सन्तुष्टि मिलेको बताइन् । ‘नयाँ प्रकृतिको रोग देखिएको विशम परिस्थिति र त्रासको माहोलले सुरुसुरुमा हामी नै समस्यामा थियौं,’ उनले भनिन्, ‘दुःखका बाबजुत चिकित्सकको टोली परिचालन गरेर संक्रमितको उपचार सफल पार्न सक्दा ठूलै युद्ध जिते जस्तो भएको छ ।’

डा. मिश्राले संक्रमितको उपचारमा अहोरात्र खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै त्यो वातावरण तयार पारिदिने प्रदेश र संघीय सरकारप्रति आभार व्यक्त गरिन् । कोरोना संक्रमितको उपचार गर्नु पर्दा तनावमा परे पनि संक्रमितलाई कोरोना जित्ने अवस्था सम्म पु¥याउँदा भने खुसी र सन्तुष्टि मिलेको उनको भनाइ छ ।

कोभिड–१९ उपचार केन्द्रमा ७२ चिकित्सक परिचालन
विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उदयपुरमा भेटिका २८, झापामा भेटिएका दुई र भोजपुरमा भेटिएका एक गरेर ३१ जना संक्रमितको उपचार भइरहेको थियो । ती मध्ये ६ जना कोरोना परास्त गरेर अस्पतालबाट विदा भएका हुन् । संक्रमितको उपचारमा बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलको नेत्रृत्वमा डा. डेनप्रसाद आचार्य, रोशन खड्का लगायतको चिकित्सक टोली परिचालित छ ।

मन्त्री घिमिरेले संक्रमितको उपचारमा चिकित्सक र स्वास्थ्यकर्मी गरेर २४ जनाको एउटा टिम तयार गर्दै परिचालन गर्ने गरिएको बताए । हालसम्म अलगअलग तीनवटा टिम बनाएर ७२ जना चिकित्सक संक्रमितको उपचारमा खटाइएको जानकारी उनले दिए ।