रुपन्देही । रुपन्देही जिल्लामा एक जनामा कोरोना पुष्टि भएसँगै कोटहीमाई गाउँपालिकाको पुर्निहवा गाउँ शिल गरिएको छ ।

कोटहीमाई गाउँपालिकाको श्री मर्चवार आदर्श माविको क्वारेन्टाइनमा रहेका एक २५ वर्षीय युवामा संक्रमण पुष्टि भएपछि उनको गाउँ पुर्निहवा शिल गरिएको हो । १ नम्बर वडामा रहेको पुर्निहवा गाउँमा अहिले कोरोना संक्रमण देखिए लगत्तै शिल गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए ।

अर्को आदेश नभएसम्मका लागि शिल गरिएको हो भने त्यस क्षेत्रमा स्वाब संकलनका लागि पनि तयारी थालिएको छ । विज्ञहरूले नेपालका सीमावर्ती जिल्लाहरूमा पिसिआर टेष्टलाई व्यापक बनाउनु पर्ने माग राखेका छन् । ती युवा भारतबाट आएको खुलेको छ । भारतबाट लुकिछिपी प्रवेश गरेका थिए । उनी वैशाख ५ गते सम्मरीमाई गाउँपालिकाको ठोठरी नाकाबाट लुकेर नेपाल प्रवेश गरेका थिए ।

उनलाई घर नपुर्याई स्थानीय क्वारेन्टाइनमा राखिएको थियो भने वैशाख १७ गते क्वारेन्टाइनमा रहेका १० जनाको स्वाब संकलन गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी बुटबलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य सामान्य रहेको बताइन्छ । सीमामा उनलाई लिनका लागि पुगेका उनका दाजुलाई पनि क्वारेन्टाइमा राखिएको छ । र, स्वाब संकलन गर्ने काम भइरहेको छ ।