यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाको क्वारेन्टाइनमा ६० जना पुगेका छन् ।
गाउँपालिकामा काठमाडाैं लगायत विभिन्न जिल्लाबाट प्रवेश गरेसँगै यो संख्या ६० पुगेको हो । क्वारेन्टाइनमा ८ महिला ४ बालिकासहित ६० जना रहेका छन् । गाउँपालिकाले प्रत्येक वडामा स्थापना गरेको ७ वटा क्वारेन्टाइनमा उनीहरूलाई राखिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।
सरकारले लकडाउनको समय चौथो पटक थपेपछि ठूलो संख्यामा नागरिक काठमाडौं झापा र मोरङबाट गाउँपालिका प्रवेश गरेका थिए । यसअघि कुम्मायकको क्वारेन्टाइनमा राखिएका नागरिकको निश्चित समयसम्म कुनै लक्षण नदेखिएपछि उनीहरूलाई होम क्वारेन्टाइनमा पठाइएको चेम्जोङको भनाइ छ ।
गाउँपालिकाले १ नम्बर वडामा २५ जना, वडा नम्बर २ माङ्जाबुङमा १४ जना, वडा नम्बर ३ सेपेनी रानीगाउँमा ५ जना, ४ मा १६ जना र ५ नम्बर वडाको क्वारेन्टाइनमा भने खालि रहेको छ । क्वारेन्टाइनमा रहेका नागरिकको किट प्राप्त भएपछि आरडिटी परीक्षणको आधारमा होम क्वारेन्टाइनमा पठाइने स्वास्थ्यकर्मी सेमिक लावतीले बताए ।