धरान । महामारीको रूप धारण गरेको कोरोना भाइरसले नेपालका ११ जिल्लालाई प्रभावित बनाएको छ ।

अन्य ६६ जिल्ला ‘ग्रीन जोन’ का रूपमा रहेको छ । सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको छ । लकडाउन पाँचौं साताबाट उकालो लाग्दै छ । फेरि पनि सरकारले एक साता लम्ब्याउने तयारी थालेको छ । कोरोनाले प्रदेश १ लाई सबैभन्दा बढी आक्रान्त बनाएको छ । प्रदेश १ को उदयपुरको भुल्केमा कोरोनाबाट संक्रमित हुने संख्या सबैभन्दा बढी छ । एक नम्बर प्रदेशमा हालसम्म २९ जना कोरोनाबाट संक्रमित बनेका छन् ।

प्रदेश १ को उदयपुर, भोजपुर र झापामा कोरोना संक्रमित रहेका छन् । झापा र भोजपुरमा एक–एक जनामा कोरोनाको संक्रमण देखिएको छ भने २७ जना उदयपुर जिल्लाका मात्रै छन् । त्यस्तै २ नम्बर प्रदेशमा धनुषा, पर्सा र रौतहट रहेको छ । तीन नम्बर प्रदेशमा काठमाडौं र चितवन रहेको छ । ५ नम्बर प्रदेशमा बागलुङ रहेको छ भने सुदूर पश्चिम प्रदेशमा कैलाली र कञ्चनपुर रहेका छन् । प्रदेशको आधारमा हेर्दा कर्णाली प्रदेश र गण्डकी प्रदेश ग्रीन जोनमा रहेका छन् ।

अहिलेसम्म उपचारपछि घर फर्किनेको संख्या ११ पुगेको छ । कुल संक्रमितको संख्या ४९ पुगेको छ । झापा र भोजपुरमा कोरोना संक्रमित भएको क्षेत्रमा अहिले शिल गरिएको छ । र, सम्पर्कमा आएकाहरूको स्वाब संकलन गरेर परीक्षण भइरहेको छ ।