संखुवासभा । जिल्लाको खाँदबारीस्थित क्वारेन्टाइनमा ४ जनालाई राखिएको छ ।

खाँदबारी नगरपालिका–६ का एक महिला र तीन पुरुषसहित चार जनालाई वरुण क्याम्पसको क्वारेन्टाइनमा राखिएको हो । सदरमुकामका २ स्थानमा क्वारेन्टाइन निर्माण भए पनि पहिलो पटक चार जनालाई राखिएको खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले बताए । उनका अनुसार उनीहरू चार दिनअघि सिन्धुपाल्चोकबाट हिँडेर खाँदबारी आएका थिए ।

उनीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । खाँदबारी नगरले झण्डै १५ लाख खर्चिएर २ स्थानमा क्वारेन्टाइन निर्माण गरेको छ । स्वास्थ्य अवस्था सामान्य भए पनि जिल्लासम्म आउनेक्रममा विभिन्न स्थानमा सवारी साधन परिवर्तन गर्दै आएका कारण क्वारेन्टाइनमा राख्नु परेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले बताए ।

हिँडेर घर जाँदै गर्दा खाँदबारी ९ तुम्लिङटारबाट खाँदबारी नगरपालिकाले एम्बुलेन्समा राखेर उनीहरूलाई ल्याएको हो । उनीहरूले केही स्थानमा सामान बोक्न ट्रक र पैदलयात्रा गर्दै संखुवासभा आइपुगेको जानकारी दिएका थिए ।