धरान । भोजपुर हतुवागढी गाउँपालिका–६ का कोरोना संक्रमित २६ वर्षीय युवकको परिवार तथा ससुराली घरमा सबैको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ ।
परीक्षणमा सबैको रिपोर्ट संक्रमण नभएको (नेगेटिभ) पाइएको छ । उदयपुरको बेलका नगरपालिका-७ स्थित मैनामैनी ससुराली घरमा तीन जना बस्दै आएका थिए । तीनै जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर टेष्टका लागि स्वाब संकलन गर्ने काम सुरु भएको छ । त्यस्तै आफ्नो घरमा रहेका १० जना परिवार सबैको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूको पनि स्वाब लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरबहादुर सलामीले जानकारी दिए ।
‘उसको घर परिवार र ससुरालीमा भएका सबैको आरडिटी टेष्ट गराइसक्यौं, अब पिसिआरका लागि स्वाब लिने काम हुँदै छ’ डिएसपी सलामीले फोनसम्पर्कमा भने । उनका अनुसार वैदेशिक रोजगारबाट घरमा आएर पनि गाउँ घुमेको भन्नेसम्म सुन्नमा आएकाले त्यस क्षेत्रमा पनि ट्रेस गर्ने कामहरू भइरहेको छ । हाल उनी हतुवागढी गाउँपालिका–१ स्थित स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचाररत छन् ।
उनी साउदीबाट हिमालयन एयरलाइन्समार्फत् नेपालमा आएका थिए । उनी सुनसरीको वराहक्षेत्रमा चैत ८ गतेसम्म बसेका थिए भने चैत ११ गतेसम्म मैनामैनीमा श्रीमती र छोरीलाई ससुरालीमै छाडेर उनी भोजपुर पुगेका थिए । हतुवागढी भोजपुर सदरमुकामबाट ४५ किलोमिटर दक्षिण क्षेत्रमा पर्छ ।