धरान । भोजपुर हतुवागढी गाउँपालिकाका एक युवामा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनको ‘ट्राभल हिस्ट्र ट्रेस’ गरिने भएको छ ।

साउदी अरबबाट फागुनमा नेपाल प्रवेश गरेका उनी सुनसरीको धरान, झुम्का, चतरा, उदयपुरको मैनामैनीलगायतका क्षेत्रमा पुगेको खुलेपछि ‘ट्राभल हिस्ट्री ट्रेस’ गरिन लागिएको हो । भोजपुरमा पहिलो पटक युवामा कोरोना पोजेटिभ देखिएपछि अहिले उनी घुमेको क्षेत्रबासीहरू चिन्तित बनेका छन् ।

उनको आरडिटी र पिसिआर परीक्षणमा कोरोना संक्रमण भएको भेटिएपछि उनी घुमेका क्षेत्रका बासिन्दामा चिन्ता छाएको हो । उनी सुनसरीको धरान क्षेत्रमा ट्याम्पुमा समेत घुमेका थिए । उनको ट्राभल हिस्ट्री खोजिँदै छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले विपद् व्यवस्थापन समितिसँग बैठक बसेर आवश्यक छलफल गर्दै निर्णय गरिने बताए ।

‘विपद् व्यवस्थापन समितिको साढे १२ बजे मिटिङ बस्दैछ, मिटिङले ऊ हिँडेका कन्ट्याकहरूको टे«सिङ गर्छौ’ सिडिओ पौडेलले भने, ‘हाल भोजपुरमा उपचार भइरहेकाले ऊसँग सुरक्षाकर्मीले बुझेर कन्ट्यान्क पोइन्टहरू फाइण्डिङ गर्ने काम हुन्छ । र, त्यस क्षेत्रका मानिसहरूको स्वास्थ्य परीक्षण गरिहाल्छौं ।’ उनका अनुसार भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि यसबारेमा जानकारी गराइसकेका छौं । ‘मिडियामा आएका कुरालाई मात्रै विश्वास गर्दैनौं, हामी संस्थागत हिसाबमा अगाडि बढ्छौं’ उनले थपे ।

प्रहरीले ती युवा धरान, झुम्का, चतरा क्षेत्रमा घुमेको उनको ट्राभल हिस्ट्री पत्ता लगाएपछि जोखिमको सम्भावना थप बढेको हो । प्रहरीले उनी हिँडेका क्षेत्रको अनुसन्धान गर्दै जोखिमलाई कम गर्नका लागि त्यसक्षेत्रको परीक्षण गरिने भएको छ । ती युवा फागुन ३० गते नेपाल आएका थिए । त्यो बेलामा नेपालमा कोरोनाको परीक्षण गर्ने प्रणालीको विकास भइसकेको थिएन । जसका कारण उनी विभिन्न क्षेत्रमा घुमेको भेटिएको छ । उनको ससुराली घर उदयपुरको मैनामैनी हो ।