धरान । कोरोनाका कारण विश्वभर मृत्यु भएको तथ्याङ्क भन्दा कयौं बढीको मृत्यु भएको विदेशी सञ्चारमाध्यमले आँकडा निकालेको छ ।
अमेरिकाको न्यूयोर्क टाइम्सका अनुसार हाल सार्वजनिक भएको संख्याभन्दा वास्तविक संख्या अधिक रहेको छ । उसले हाल तथ्याङ्कमा देखाइए भन्दा २५ हजार बढीको मृत्यु भएको दाबी गरेको छ । कोरोनाबाट संक्रमित भएका र मृत्यु भएका ११ देशको विश्लेषण गर्दै उसले एक महिनाको आँकडा सार्वजनिक गरेको हो ।
उसले स्पेनमा ९ मार्च देखि ५ अप्रिलसम्म १९ हजार ७ सयको मृत्यु भएको दाबी गरेको छ । जबकि त्यो अवधिमा १२ हजार ४०१ को मात्रै मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । त्यस्तै बेलायत र वेल्समा ७ मार्चदेखि १० अप्रिलसम्म १० हजार ३३५ जनाको मात्रै मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । जबकि मृत्यु १६ हजार ७ सय रहेको बताइएको छ ।
फ्रान्समा ९ मार्चदेखि ५ अप्रिलसम्मको तथ्याङ्क ८ हजार ५९ जनाको मृत्यु भएको बताइए पनि वास्तविक तथ्याङ्क १० हजार ५ सय रहेको छ । अमेरिकाको न्यूयोर्क सिटीमा ११ मार्चदेखि १८ अप्रिलसम्म १३ हजार २४० को मृत्यु भएको बताइए पनि वास्तविक १७ हजार २ सय रहेको दाबी गरेको छ ।
नेदरल्याण्डमा ९ मार्चदेखि ५ अप्रिलसम्म २ हजार १६६ जनाको मृत्यु भएको बताइए पनि वास्तविक भने ४ हजारको संख्यामा रहेको विश्लेषण गरिएको छ । यसै गरी अन्य देशहरूमा पनि मृत्युदरको वास्तविक तथ्याङ्क सार्वजनिक गरेको छ । उसले इस्ताबुल, इण्डोनेसिया, बेल्जियम, स्विटजरल्याण्ड, स्वीडेन देशको वास्तविक मृत्युदर सार्वजनिक गरेको छ । यो तथ्याङ्क कोरोना फैलिरहे पछि मात्रै मृत्यु भएकाहरूको आएको अनुमान गरिएको छ । तर, कोरोना सुरु भइसकेलगत्तै नै मृत्यु हुन थाले पनि कतिपय हकमा अन्य कारणले मृत्यु भएको हो कि भनेर अनुमान गरिएको छ ।