धरान / उदयपुरको त्रियूगा नगरपालिका – ३ भुल्केस्थित थप आठ जनाको पिसिआर परीक्षणमा पोजेटिभ देखाएको छ । विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिए पछि थप परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।
नमुना संकलन गरेर पठाउनु पर्नेमा विमारी नै धरान पठाए पछि धरानमा त्रास फैलिएको छ । यस अघि धरानमा पोजेटिभ भएको विमारी राखिएको थिएन । उदयपुर प्रशासनले उनीहरुको नमुना संकलन गरेर प्रतिष्ठानलाई पठाउनु पर्नेमा मानिसहरु नै पठाएर गैरजिम्मेवार काम गरेको प्रतिष्ठानका चिकित्सकहरुले बताएका छन् । उनीहरुलाई उदयपुर मै राखेर धरान नमुना संकलन गरि पठाई रिर्पोट आए पछि सार्वजनिक गर्नु पर्नेमा अगाडी सार्वजनिक गरेर पुरै आतंकित बनाउने काम भएको छ । ‘हामीले नमुना संकलन गरेर पठाउनु भनेको विमारी नै पठाए छन् ।' मन्त्रीले नै पठाउन लगाएको भन्ने उदयपुर प्रशासनले जवाफ दिएको ती चिकित्सकले बताए । ‘मन्त्रीको हवाला दिदैं उदयपुरले गैर जिम्मेबार काम गरेको छ । पुन परीक्षणको रिर्पोट नआई सार्वजनिक गर्नै नहुने हो । सार्वजनिक गरेर यत्रो लामो बाटो धरान पठाएर जनमानसमा थप आतंक सिर्जना भएको छ ।’–ती चिकित्सकले भने–‘स्वाब संकलन गरि ल्यावमा जम्मा गरिएको छ । उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको छ ।’
प्रतिष्ठानले एक साताअघिदेखि १०० बेडको कोरोना अस्पताल बनाउन तिव्र रुपमा काम गरिरहेका बेला उदयपुरले प्रतिष्ठानसँग सहकार्य नगरि विमारी पठाएको प्रतिष्ठानले जनाएको छ । ‘हामी १० बेडको आइसियुसहितको वार्ड तयारी गरिरहेका बेला हामीसँग समन्वय नगरि विमारी पठाइयो । नमुना मात्र पठाएर ती विमारी उदयपुर मै सुरक्षित राख्न सकिन्थ्र्यो ।’–उनले भने ।
मस्जिदमा रहेका १३ जनामा संक्रमण देखिए पछि प्रशासनले शनिवार सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी अस्पताल विराटनगर पठाइएको थियो । ती मध्ये ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो । उनीहरुलाई एम्बुलेन्सबाट धरान ल्याइएको हो ।
गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो । पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो । उनीहरुको विराटनगरस्थित कोरोना अस्पतलामा राखिएको छ ।