उदयपुर । उदयपुरको भुल्केमा नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले थप एक सय ५० जनाको स्वाबको नमुना संकलन गरेको छ ।
१३ जना कोरोना संक्रमित फेला परेपछि उच्च सतर्कता अपनाउँदै नेपाल सरकारले नेपाली सेनाको स्वास्थ्यकर्मी टोली खटाइएको हो । सेनाका स्वास्थ्यकर्मी टोली दुई सय ५० जनाको स्वाव नमुना संकलन गर्ने लक्ष्यका साथ भुल्के आएको थियो । आजै फर्कने गरी आएका स्वास्थ्यकर्मी टोलीले स्वाव संकलन गर्ने क्रममा रात परेपछि सोमबार संकलन सकाएर फकर्ने सुरक्षा अधिकारीले जनाएको छ ।
प्रदेश सरकारले स्वाब नमुना संकलन गर्न प्रयोग गरेकै चौरमा स्थानीयलाई सामाजिक दूरी कायम गर्दै व्यवस्थित लाइन राखेर स्वाब नमुना संकलन गरिएको थियो । त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीय र चार नेपाली मुस्लिम समुदायका मानिस गरी १६ जनाको गत मंगलबार स्वाब परीक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको थियो ।
स्थानीयको स्वाब नमुना परिक्षणको रिर्पोटअनुसार नियन्त्रणको कदम अगाडी बढाइने त्रियुगा नगरपालिकाले जनाएको छ । नगर भरका नागरिकहरूको परीक्षणका लागि पहल गरिराखेको नगरले जनाएको छ । प्रदेश सरकारले शनिबार नुरी मस्जिद क्षेत्रका ५३ घरपरिवारको संक्रमितसँगका सम्पर्कमा रहेका ७ गरी ६० जना स्थानीय, ५ सुरक्षाकर्मी र ४ स्वास्थ्यकर्मी गरी जम्मा ६९ जनाको स्वाब नमुना संकलन गरेको थियो ।
संकलित नमुना स्वाब विराटनगरस्थित कोशी अस्पताल लगिएको छ । प्रदेशले संकलन गरेर बाँकी रहेका परिवारका सदस्यहरूको नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले स्वाब संकलन गरिराखेको छ । प्रदेश १ मा पहिलो र देशमै धेरै संख्यामा कोरोना संक्रमित पुष्टि भएपछि स्थानीय सरकार, जिल्ला प्रशासन, प्रदेश तथा संघीय सांसद, सुरक्षा तथा स्वास्थ्य निकायले छिटो परीक्षणका लागि सरकारसँग माग राखेका थिए ।