उदयपुर । उदयपुरको भुल्केबाट स्थानीय, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहित ६९ जनाको स्वाब नमुना संकलन गरिएको छ ।

त्रियुगा नगरपालिका–३ भुल्केका ६० जना स्थानीय, संकलनमा खटिएका ५ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीको गरी ६९ जनाको स्वाब नमुना लिइएको हो । १ न. प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मीको टोलीले संक्रमितहरूसँग सम्पर्कमा आएकाहरूको पहिलो चरणको स्वाब नमुना संकलन गरेको जन स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उक्त नमुनाको परीक्षण रिर्पोट आएपछि थप कदम चाल्ने जनाइएको छ ।

खुला चौरीमा स्थानीयबासीलाई सामाजिक दूरी कायम गर्दै व्यवस्थित ढंगले पालैपालो सबैको स्वाब नमुना लिएको थियो । त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जीदमा रहेका १२ जना भारतीयसहित १६ जनाको गत मंगलबार स्वाब नमुना संकलन गरी परीक्षणका लागि कोशी अस्पताल पठाइएको थियो । परीक्षणबाट ११ जना भारतीय र १ जना नेपालीमा कोरोना संक्रमित भएको पुष्टि भएपछि गाउँलाई सुरक्षा घेराभित्र राखेर स्वाबको नमुना लिइएको हो ।