धरान । बलिउडका स्टार शाहरुख खानले २५ हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) प्रदान गरेका छन् ।

स्वास्थ्यकर्मीका लागि खानले २५ हजार थान पीपीइ दिएका हुन् । महाराष्ट्रका अस्पताल एवम् स्वास्थ्य केन्द्रहरूमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई पीपीइ दिएर सहयोग गरेका हुन् । अहिले महाराष्ट्रमा कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

शाहरुखले पीपीइ सहयोग गरेको बारे महाराष्ट्रका जनस्वास्थ्य मन्त्री राजेश टोपेले ट्वीटमार्फत् उल्लेख गरेका छन् । उनले स्वास्थ्यकर्मीका लागि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । बलिउड स्टारखानले प्रधानमन्त्री राहत कोष, मुख्यमन्त्री राहत कोष र महाराष्ट्रमा रकम जम्मा गरेका छन् । उनले पश्चिम बंगालमा पनि विभिन्न च्यारिटीमार्फत् सहयोग गरेका छन् ।

त्यस्तै अग्रज कलाकार संजय दत्तले पनि १ हजार परिवारलाई खाना वितरण गरेका छन् । कोरोना भाइरसका कारण लकडाउनले गर्दा विपन्नहरूलाई खाना वितरण गरेर सहयोग गरेका हुन् । उनले सावरकर सेल्टर्ससँगको सहकार्यमा खाना वितरण गरिरहेका हुन् । उनले भने, ‘अहिले देश नै संकटको घडीमा छ । यस्तो बेलामा सबैले सकेको सहयोग गरौं, सामाजिक दूरी कायम राखौं । कोरोनाविरुद्ध हाम्रो लडाइँ पूरा गरौं ।’