धरान । पाँथचरको तुम्मेवा गाउँपालिका–५ हाङ्गुममा निर्माणाधीन अवस्थामा रहेको पुलमा काम गर्ने क्रममा एक भारतीय कामदारको ढुङ्गाले लागेर मृत्यु भएको छ ।
भारतको सिपोल जिल्ला शंकरापुर गाउँ पञ्चायत घर भई तुम्मेवामा काम गर्दै आएका २४ वर्षीय नजिबुल महोमदको मृत्यु भएको हो । खोला नजिकै टेन्ट टाँगेर बस्दै आएका उनीहरूको सुतिरहेको अवस्थामा बिहान करिब ३ बजे समयमा भीरमाथिबाट एक्कासी ढुङ्गा खस्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय रवि पाँचथरबाट प्रहरी टोली खटी गई कानूनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै संखुवासभाको पाँचखपन–२ की ५२ वर्षीया डम्बरकुमारी राईको चट्याङले लागेर मृत्यु भएको छ । घरको आँगनमा बसिरहेको समयमा वर्षासँगै आएको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । यसैगरी खोटाङ केपीलाशगढी–१ का १५ वर्षीय राजमणि राई र ३५ वर्षीया निर्मला विकको मृत्यु भएको छ । आ–आफ्नै घरमा बसिरहेका दुवै जनालाई चट्याङले लाग्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।