भण्टाबारी । कोशी टप्पु वन्यजन्तु आरक्षबाट हरिण मारेको आरोप दुईजना पक्राउ परेका छन् । हिजो शनिबार साँझ नेपाली सेनाले बराहक्षेत्र नगरपालिका  ९ श्रीलंका टप्पुको नारायणपुर भन्ने स्थानबाट मारेको हरिणसहित उनीहरूलाई पक्राउ गरेको हो । 
 
कोशी टप्पु बन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ श्री शत्रुभञ्जन गुल्म अन्तर्गत सुरक्षा पोष्ट श्रीलंका टप्पुबाट आरक्ष कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले शिकार गरेको हरिणसहित उनीहरूलाई पक्राउ गरेको श्री शत्रुभञ्जन गुल्मका सेनानी रामचन्द्र श्रेष्ठले जानकारी दिए । विश्वस्त सुत्रबाट शिकार गर्दै गरेको भन्ने खबर प्राप्त भएपछि नेपाली सेना र आरक्ष कर्मचारीको संयुक्त टोलिले  श्रीलंका टप्पुको नारायणपुर बस्ने बर्ष ३० का सन्तोष कविरथ र बर्ष ४० का दोमा कविरथलाई अन्दाजी ४ बर्षको हरिणको शिकार गरी घरमा लुकाउंदै गरेको अवस्थामा नियन्त्रणमा लिएको सेनानी श्रेष्ठलेले जानकारी दिए । 
 
 उनीहरूलाई आवश्यक कारबाहीको लागि कोशी टप्पु बन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहामा बुझाएको नेपाली सेनाले जनाएको छ । हालैको दिनमा विश्वव्यापी रुपमा फैलिदै गएको कोभिड १९ को रोकथामको लागि नेपाल सरकारले घोषणा गरेको देशव्यापी लकडाउनको समयमा सम्पुर्ण राज्य संयन्त्रको ध्यान उक्त रोग विरुद्ध प्रतिकारतर्फ लागेको  मौका छोपी केही समययता बन पैदावार तथा बन्यजन्तुको चोरी शिकार बढ्न सक्ने कुरालाई मध्यनजर राखी सेना र आरक्ष प्रशासनले निगरानी बढाएको छ ।
 ।