धरान । धरानमा लकडाउनको बेला घरबाहिर जथाभावी हिँड्ने ९७ जना महिला तथा पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर पब्लिक हाइस्कुलको मैदानमा दिनभरि राखेको छ ।
कामबिना घुमफिर गरेको पाइएपछि ७५ पुरुषसहित ९७ जनालाई नियन्त्रणमा लिएर पब्लिक स्कुलको खेल मैदानमा राखेको हो । उनीहरूलाई सामाजिक दूरी कायम गरेर राखिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनीहरूलाई सम्झाई–बुझाई गरेर शुक्रबार साँझ ७ बजेतिर छाडिएको थियो । त्यसक्रममा नियन्त्रणमा लिएको २८ वटा मोटरसाइकल र स्कुटी भने लकडाउन खुलेपछि मात्रै दिइने भएको छ ।
त्यस्तै एउटा टेम्पोलाई पनि नियन्त्रणमा लिइएको छ । कोरोनाको उच्च जोखिम हुने भन्दै नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन शुरु गरेको थियो । सरकारले तेस्रो चरणको लकडाउन थपेको छ । वैशाख ३ गतेसम्म लकडाउनलाई जारी नै राखेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च खोजिम रहेको देशमा राखेको थियो ।
तर, नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण पुष्टि भए पनि एक जना उपचारपछि निको भइसकेका छन् । मृत्युदर भने नेपालमा शून्य रहेको छ । नेपाल सरकारले दैनिक स्वाब परीक्षण गरेर कोरोना भए नभएको पुष्टि गर्ने काम भइरहेको छ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि दैनिक स्वाब परीक्षण चलिरहेको छ । तर, हालसम्म गरिएको परीक्षणमा संक्रमण भएको भेटिएको छैन ।