धरान । भोजपुरको आमचोक गाउँपालिकामा खाद्यान्न बोकेको ट्याक्टर रोकेर लुटपाट गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आमचोक–९ रुक्सेमा ट्याक्टरलाई रोकेर रातको समयमा २१ हजार ५ सय रुपैयाँ नगद लुटपाट गरेका थिए । लुटपाटमा संलग्न आमचोक–८ का लोकबहादुर खत्री, प्रमोद खत्री, पदम श्रेष्ठ, मनिष श्रेष्ठ, निशान तामाङ, ठकुन तामाङ र देवराज तामाङलाई पक्राउ गरिएको हो । उनीहरूको उमेर १६ वर्षदेखि ३० वर्षसम्म रहेको छ । उनीहरूलाई गाउँघरबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

जिल्ला भोजपुर प्रहरी कार्यालयका अनुसार ना ७ त ३५० नम्बरको ट्याक्टरलाई रोकेर चालकको साथमा रहेको २१ हजार ५ सय रुपैयाँ लुटपाट गरेर फरार रहेका थिए । भोजपुरको रानीटारबाट खाद्यान्न बोकेर बालंखातर्फ जाँदै गरेको अवस्थामा लुटपाट गरिएको थियो । यो घटना गत सोमबार रातिको हो भने उनीहरूलाई मंगलबार पक्राउ गरिएको थियो ।