भद्रपुर । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापामा जनपथ र सशस्त्र प्रहरीले जनशक्ती थप गरेको छ ।  जिल्लाको पूर्वोउत्तर सिमाना तिरीङ खोला देखी पश्चिम दक्षिण सिमावर्ती गोरीगञ्जसम्म १४४ दशमलव २ किलोमिटर सीमा क्षेत्रमा परिचालन गरिएको ती कार्यालयले जनाएका छन् ।

कोभिड १९ रोकथाम नियन्त्रणका लागि सीमा क्षेत्रबाट आवतजावत हुन सक्ने साना ठुला सीमा नाकाहरुको पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल नं.२ गणका डिएसपी द्रोर्ण बिक्रम शाहले बताए । एक गुल्म, ८  बिओपि र थप १७ ओटा अस्थाई पोष्ट स्थापना गरी नेपाल सरकारद्धारा जारी गरिएको लकडाउनलाई अझ प्रभावकारी बनाउन सुरक्षाकर्मी राखिएको उनले जनाए । भारत तर्फबाट हुन सक्ने सम्भावित घुसपैठ तथा मानिसहरुको आवतजावतलाई पूर्ण रुपमा नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले ५८ वटा सीमा नाकाहरुमा ५सय ५६ जना जनशक्ति राखिएको उनले जनाए ।

सीमा नाका बाहेक जिल्लामा स्थापना भएका क्वारेनटाइन, सवारी साधन चेकप्वाईन्ट, अनुगमन निरीक्षण तथा जिल्लाको आन्तरीक सुरक्षा ब्यवस्थाका साथै लकडाउनलाई अझ प्रभावकारी बनाउनका लागि गण मातहतमा रहेका  गुल्म तथा ६ वटा सुरक्षा बेशहरुबाट १ सय ९६ जना प्रहरी  परिचालन गरिएको उनले जानकारी दिए ।

त्यसैगरी जनपथ प्रहरीले ९४ वटा गौडाहरुमा सुरक्षा मजबुद बनाइएको जिल्लाका एसपी कृष्णप्रसाद कोइरालाले जनाए । भारतमा सङ्क्रमण तीब्र गतिमा बढीरहेकोले त्यहाँका जनता नाता गोताको हिषावले नेपाल तर्फ लुकिछिपी छिर्ने भएकोले ३ जना इन्सपेक्टरको नेतृत्वमा थप १ सय ५० जना प्रहरी तीनवटा स्थानमा परिचालन गरिएको उनले जनाए । कचनकवल गाउँपालिकाको पथरिया,झापा गाउँपालिकाको टागनडुब्बा र गौरीगञ्ज गाउँपालिकाको कोरोबारीमा प्रहरी परिचालन गरिएको उनले जनाए । परिचालन गरिएका प्रहरी  चौकी र  अस्थायी पाल टाँगेर बसेको उनले बताए । झापामा २६ वटा प्रहरी चौकी स्थायी रुपमा छन् । प्रहरीले मात्र निगरानी कम हुने भएकोले प्रहरी र समुदायको संयुक्त पहलमा हालसम्म १६ वटा समिति निर्माण गरिसकिएको उनले बताए ।