धरान । कोरोनाभाइरसले एक महिना अर्थात् ३० दिनमा ४ सयभन्दा बढी मानिसलाई सङ्क्रमित गर्न सक्ने भारतमा गरिएको एक अध्ययनले देखाएको छ ।

लकडाउनलगायत उल्लंघन गरेको अवस्थामा कुनै पनि व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्नका लागि ३० दिनमा ४०६ जना संक्रमित हुने अध्ययनले देखाएको हो । भारतको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले गरेको अध्ययनमा यस्तो तथ्य सार्वजनिक गरेको छ । कोरोनाको संक्रमण दरको हिसाबले हेर्ने हो भने ‘आरओ १ दशमलव ५ देखि ४’ सम्म संक्रमणको दर हुने अध्ययनले देखाएको छ ।

यो बेलामा लकडाउन र सामाजिक दूरी नै सबैभन्दा उत्तम विकल्प भएको उक्त अध्ययनले देखाएको छ । चीनले कोरोनालाई शून्यमा झार्नका लागि त्यही विकल्प अपानाएको थियो । अहिले चीनमा मृत्युदर शून्यमा झरेको छ भने कोरोना संक्रमण दरमा पनि उस्तै अवस्था रहेको छ । लकडाउन र सामाजिक दूरी घटाउने हो भने ७५ प्रतिशत संक्रमित संख्या घट्ने उक्त अध्ययनले भनेको छ ।