धरान । तेह्रथुमको छथर गाउँपालिका ६ नम्बरका वडाध्यक्षले स्थानीय एक युवामाथि निर्घात कुटपिट गरेका छन् ।

वडाध्यक्ष टेकराज लिम्बूले कानून हातमा लिँदै स्थानीय राजकुमार लिम्बूलाई कुटेका हुन् । पीडित राजकुमारका अनुसार वडाध्यक्षले 'मविरुद्ध किन जथाभावी बोल्दै हिँडेको' भन्दै हातपात गरे । वडाध्यक्षको कुटाइबाट घाइते बनेका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटना घटेको तीन दिन बितिसकेपछि पीडित परिवार कारबाहीको माग गर्दै सोमबार ओख्रे प्रहरी चौकीमा निवेदन दिन पुगेका थिए । अाफ्नाे छाेराेमाथि कुटपिट भए पछि सबैतिर हारगुहार गर्दा पनि सुनुवाइ नगरेपछि बाध्य भएर प्रहरीकहाँ उजुरी दिन आएको पीडितका बुबा टीकाप्रसाद लिम्बूले बताए ।

वडाध्यक्ष लिम्बूले मादक पदार्थ सेवन गरेर हिँडिरहेकाले सम्झाउन खोज्दा आइलागेपछि सामान्य हातपात गरेको स्वीकार गरे । लकडाउनका बेला मातेर होहल्ला गर्दै हिँडेको पाइएपछि बोलाएर सम्झाउन खोज्दा ‘तैँले के गर्छस् भन्दै ममाथि नै जाइलागेपछि’ एकदुई थप्पड हिर्काएको स्वीकारे । तर, मातेको मान्छे कहाँ लड्यो के भयो अहिले घटनालाई ‘बढोत्तरी’ गर्ने काम भइरहेको उनले बताए । ‘मातेर होहल्ला गरेको भन्ने सुनेपछि बोलाएर घर जाँ भनेर भन्दा के गर्छस् भनेर ममाथि नै जाइलाग्यो, सामान्य एकदुई थप्पड हानेको हो’–उनले भने, ‘मातेको मान्छे कहाँ लड्यो, के भयो, अहिले ममाथि षडयन्त्र गरिँदै छ ।’

घाइते लिम्बूले भने आफूमाथि वडाध्यक्षले यसअघि पनि दुई पटक हातपात गरिसकेको भए पनि आफू चुप लागेकाे बताए । वडाध्यक्षलाई यस विषयमा छलफलका लागि ओख्रे प्रहरी चौकले बोलाएको थियो । तर, उनी छलफलका लागि नआएको ओख्रे प्रहरी चौकीले जनाएकाे छ । वडाध्यक्षको कुटाइबाट पीडित लिम्बूको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनी प्राथामिक स्वास्थ्य केन्द्र वसन्तपुरमा उपचाररत छन् ।

पीडित लिम्बूले आफूूलाई छिमेकी सन्तकुवीर र उनको पत्नी ममता लिम्बूले वडाध्यक्षले बोलाएको भन्दै घरमा लिएर गएको बताए । उनीहरूकै घरमा बसिरहेका वडाध्यक्षले आफूमाथि आरोप लगाउँदै एक्कासी हातपात गरेको दाबी गरे । घटना बिहीबार साँझको हो ।

प्रहरी भन्छः घाउ जाँच केस गरिपाऊ भनेर निवेदन आएको छ

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता इन्स्पेक्टर तेजबहादुर दाहालका अनुसार घाउ जाँच गरिपाऊ भनेर प्रहरी चौकी ओख्रेमा निवेदन परेकाले सोहीअनुरूप ओख्रेमा डाक्टरहरू नभएकाले इलाका प्रहरी कार्यालय वसन्तपुरमार्फत् घाउजाँच गरिएको छ । उनले व्यक्तिवादी मुद्दा दर्ता गरेकाले अदालतमा पीडित परिवारले उजुरी गरेको अवस्थामा घाउजाँचको रिपोर्ट प्रहरीले लगेर बुझाइदिने बताए । ‘कुटपिट भएको भनेर आवश्यक कारबाही गरिपाऊँ भनेर व्यक्तिवादी निवेदन दिएको देखिन्छ’ उनले भने, ‘यसमा मुद्दा दर्ता भएको चाहिँ छैन ।’

तेह्रथुमका सञ्चारकर्मी महेन्द्र मादेनको सहयोगमा