पाँचथर । सरकारले लक डाउनको अवधि बढाएसंगै कुम्मायक गाउँपालिकाले अत्याआवश्य सामाग्रीहरुको ढुवानी गर्न थालेको छ । खाद्य संकट र अभाव टार्न गाउँपालिकाले ढुवानीलाई प्रभावकारी बनाएको हो ।

गाउँपालिकाले खाद्यन्य, पेट्रोल, तेल, र ग्यासको आपूर्तिलाई सहज बनाएको छ । कार्यालयसंग भएका दुई वटा ट्याकटर मार्फत सामानको ढुवानीलाई अघि बढाएको हो । चामल, नुन, तेल, चिनी, दाल जस्ता अत्याआवश्यक सामाग्रीको अभाव हुन नदिन ढुवानी गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । गाउँपालिकाको पिपलबोटे, तिङदेन, माङजाबुङको चौथी बजार लगायतका स्थानीय बजारमा अत्याआवश्यक बस्तुको आपुर्तिमा सहज बनाईएको चेम्जोङको भनाइ छ ।

गाउँपालिकाको ५ वटै वडामा अत्याआवश्यक सामाग्रीको आपुर्ति सहज बनाएकाले लक डाउनको समयमा खाद्य अभाव नहुने वडा कार्यालयहरुले जनाएका छन । व्यपारीले महामारीको समयमा कृतिम अभाव र मुल्य बृद्धि गर्न सक्ने भएकाले त्यस्तो भेटिए तत्काल गाउँपालिकामा जानकारी दिन समेत आग्रह गरेको छ ।

लक डाउनको समयमा अति बिपन्न र श्रमिक नागरिकलाई राहत बितरण गर्न तयारी थालिएको छ । श्रमिकलाई बितरण गर्ने खाद्य बस्तुहरुको खरिद गर्न सुचना निकाली प्रकृया अघि बढाएको कार्यालयले जनाएको छ ।