धरान । कोरोनाभाइरसको संक्रमणबाट जोगाउनका लागि सरकारले गरेको लकडाउनका बेला सुनसरीको दुहबीस्थित एक इँटा उद्योग सञ्चालन गरेको विषयमा विवाद हुँदा झडप भएको छ ।

सञ्चालन गर्ने पक्ष र विपक्षमा उत्रिएका दुई समूहबीच झडप हुँदा एक दर्जन बढी घाइते भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणभन्दा बाहिर जाँदा घटनाले फरक मोड लिन पुगेको हो । दुबही–९ स्थित छाताबेलीमा रहेको जयबाबा इँटा उद्योग सञ्चालन गरेको विषयमा स्थानीयका दुई समूहबीच विवाद उत्पन्न भएको थियो । आज बिहान करिब ८ बजेतिर झडप भएको स्थानीय सञ्चारकर्मी प्रेम गिरीले ‘नागरिक टाइम्स’ अनलाइनमा समाचार प्रकाशित गरेका छन् ।

घटनामा १३ जना घाइते भएको उल्लेख गरिएको छ । घाइते ताबिज मियाँका अनुसार उद्योगमा कार्यरत भारतीय मजदुरहरू गाउँ घुमेको विषयको सूचना प्रहरी र सञ्चारकर्मीलाई दिएको भन्दै दुहबी ९ का वडाध्यक्ष मेहदी हुसैनको निर्देशनमा आक्रमण गरिएको हो । सञ्चारकर्मी गिरीले लेखेका छन्, ‘मियाँले आफू घरमा बसिरहेका बेला दुहबी ९ का वडाध्यक्षले तिमीहरूसँग काम छ भन्दै बोलाएर आक्रमण गरेको छ ।’ यता जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनाेद शर्माले घटना भएकाे पुष्टि गरे ।