भण्टाबारी । कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नेपाली सेनाले निगरानी बढाएसँगै ठुलो परिणाममा खयरको काठ बरामद हुन थालेको छ । अवाञ्छित तत्वहरुबाट वन्यजन्तु तथा वनपैदावर चोरी सिकारी नियन्त्रण गर्न कोशी टप्पु क्षेत्रमा नेपाली सेनाले निगरानी बढाएपछि ठुलो परिणाममा काठसहित तस्करहरुलाई नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को मौका छोपी चोरी सिकारी तथा तस्करका घटनाहरु बढ्न सक्ने कुरालाई दृष्टिगत गरी कोशी टप्पु वन्यजन्तु आरक्षमा सुरक्षार्थ खटिएका नेपाली सेनाले निगरानीसँगै सावधानी र सतर्कता अपनाएको श्री शत्रुभन्जन गुल्म पश्चिम कुसाहाका गूल्मपति सेनानी रामचन्द्र श्रेष्ठले जानकारी दिए ।

कोशी टप्पु क्षेत्रमा दाउरा संकलन गर्ने नाममा बिना इजाजत चोरी सिकारी गर्न खोज्ने ८३ जनालाई काठसहित पक्राउ गरिएको सेनानी श्रेष्ठले बताए । चैत १३ गतेदेखि २१ गतेसम्मको लकडाउनको अवधिमा १३ जना महिलासहित ८३ जनालाई ठुलो परिणाममा खयरको काठ र दाउरा संकलन गर्ने क्रममा नियन्त्रणमा लिएको उनको भनाइ छ । १७५ वर्गकिलोमिटरमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुर जिल्लामा अवस्थित रहेको छ । शत्रुभन्जन गुल्म पश्चिम कुसाहाका अनुसार चैत १३ गते बिना इजाजत दाउरा संकलन गरिरहेका ३५ जना सप्तरीको झनकट्टाबाट पक्राउ परे भने सोही दिन १० वटा खयर सहित ३५ भारी दाउरा बरामद गरियो । यसैगरी १८ गते खयरको हरियो दाउरासहित ३५ जना सप्तरीको पिपराबाट पक्राउ परे भने १९ गते २० इन्च गोलाइ ७ फिट लम्बाईका खयरको काठ १० वटासहित १३ जना महिला पक्राउ परेकी थिइन् । त्यसैगरी २१ गते भागलपुर बोची इलाकाबाट ४ थान दाउरा र २ थान बन्चरो बरामद गरिएको नेपाली सेनाले जनाएको छ ।

बहुमुल्य खयर सहितका काठ तस्करीमा महिलाको प्रयोग भएको पाइएको छ । पछिल्लो समय खयरका काठहरु बढी मात्रामा बरामद हुनु र सो कार्यमा महिला बढी सक्रिय देखिनु निकै शंकास्पद विषय भएको बताउदै सेनानी श्रेष्ठले बहुमुल्य खयरको काठ तस्करहरुले रणनिति परिवर्तन गरेको पाइएको बताए । सो बारेमा आरक्ष प्रशासन र सेनाले सूक्ष्म रुपमा अनुसन्धान गरेकोले छिट्टै तस्करहरुको जडसम्म पुग्ने उनको कथन छ।

सामुदायिक वनमा सिकारीहरुको हर्कत बढीरहेको र आरक्ष भित्र पनि राष्ट्रिय सम्पतिको रुपमा रहेको वन्यजन्तुको हुनसक्ने चोरी सिकारप्रति सेना सजक रहेर निगरानी गरिरहेको सेनानी श्रेष्ठले बताए । लकडाउनको अवधिमा ठुलो मात्रामा बहुमुल्य खयरका काठ तथा फडानीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कारबाहीका लाई आरक्ष कार्यालयलाई बुझाएको उनले बताए । नेपाली सेनाले आरक्ष प्रशासनसँग मिलेर वन तथा वन्यजन्तुको सुरक्षार्थ चलाएको विविध एकिकृत अपरेशन तथा चेकप्वाईन्टको कारवाहीको फलस्वरुप ठुलो परिणाममा तस्करी गर्न लागिएका काठसहित तस्करहरु पक्राउ गरिएको जनाएको छ ।