विराटनगर  / मोरङको सुन्दरहरैंचाको सलकपुर सामुदायिक वन र लोहन्द्रा सामुदायिक वनमा बँदेल र मृगको अवैध सिकार गर्ने तीन जना सिकारी पक्राउ परेका छन् ।
लकडाउनको मौका छोपी चारकोसे जंगलमा वन्यजन्तुको अवैध सिकार गर्नेलाई शुक्रबार सशस्त्र प्रहरीको राजमार्ग सुरक्षार्थ टोली र सशस्त्र वन रक्षकले हतियारसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा केराबारी(८ का गन्मरबहादुर योगी, किसान कार्की र झापा धाइजनका किरण धिमाल रहेका डिभिजन वन कार्यालय मोरगका प्रमुख विशाल घिमिरेले जानकारि दिए ।
उनीहरुलाई पक्राउ गर्दा सिकारीले ९ राउण्ड र सशस्त्र वन रक्षकले ७ राउण्ड हवाइ फायर गरेका थिए । हवाइ फायरबाट मानविय क्षेति भने भएको छैन् ।
सुन्दरहरैंचाको सलकपुर सामुदायिक वन र लोहन्द्रा सामुदायिक वनमा बँदेल र मृगको अवैध सिकार गर्ने क्रममा दुईपक्षबीच गोली हानाहान भएको घिमिरेले बताए । उनका अनुसार सिकारी टोलीमा झण्डै २५ जनाको समूह थियो ।
पक्राउ परेकाका साथबाट दुई थान भरुवा बन्दुक पनि बरामद भएको छ । उनीहरुलाई वन ऐन र हातहतियार खरखजना ऐन अर्न्तगत कारबाही गरिने घिमिरेले बताए ।