भण्टाबारी । कोशीटप्पु वन्यजन्तु आरक्षबाट हुनसक्ने सम्भावित चोरीपैठारी रोक्न नेपाल सेनाले निगरानी बढाएको छ ।
 
लकडाउनको समयमा वन्यजन्तु र काठको चोरी हुनसक्ने सम्भावनालाई रोक्न निगरानी बढाएको सत्रुभन्जन गुल्म पश्चिम कुसाहाले जनाएको छ । सरकारले घोषणा गरेको लकडाउनको मौका छोपेर कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा केही तत्वहरू चोरीसिकारी गर्न सक्रिय रहेको सूचनाकाे अाधारमा नेपाली सेनाले जंगलमा व्यापक निगरानी बढाएको सत्रुभन्जन गुल्म पश्चिम कुसाहाका सेनानीले रामचन्द्र श्रेष्ठले जानकारी दिए ।
 
कोशीटप्पुबाट वन्यजन्तुको चोरीसिकारी तथा काठ तस्करी निस्तेज बनाउन सेनाले विभिन्न स्थानमा चेक प्वाइन्ट समेत निर्माण गरेर निगरानी थालेको छ । केही दिनअगाडि लकडाउनको मौका छोपेर पर्सा निकुञ्जमा तस्कर र गस्तीमा खटिएका नेपाली सेनाबीच गोली हानाहान भएपछि कोशी टप्पुमा समेत थप निगरानी बढाएको बुझिएको छ ।
 
लकडाउनको बहानामा एम्बुलेन्ससहितका सवारीसाधनबाट समेत विभिन्न वस्तुको चोरीसिकारी भएको पाइएकोले आफूहरू त्यसतर्फ समेत विशेष ध्यान दिएको सेनानी श्रेष्ठ बताउँछन् । 'लकडाउनको बहानामा एम्बुलेन्ससहितका गाडीबाट समेत विभिन्न वन्यजन्तुको ओसारपसार हुनसक्छ' उनले भने, 'त्यसैले हामीले विगतमा भएका घटनाबाट पाठ सिकेर चेक प्वाइन्ट थापेर निगरानी बढाएका छौं ।' 
 
सुनसरी,सप्तरी र उदयपुर जिल्लामा अवस्थित कोशीटप्पु वन्यजन्तु आरक्ष १७५ किलोमिटरमा फैलिएको छ् । यता कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुसाहाले समेत सम्भावित घटनालाई मध्यनजर गर्दै निगरानी बढाउन निर्देशन दिएको जनाएको छ । नेपाली सेनासँगै आरक्षका कर्मचारीले समेत कोशीटप्पु क्षेत्रमा हुनसक्ने सम्भावित चोरीसिकारी रोक्न गस्ती बढाएको कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीले जानकारी दिए ।
 
कोशीटप्पु वन्यजन्तु आरक्ष पर्यटकीय क्षेत्र भए पनि अहिले कोरोना भाइरसकाे लकडाउनका कारण सुनसान छ । नेपाली सेनाले आरक्ष क्षेत्रभित्र पर्ने पूर्व पश्चिम राजमार्ग तथा अन्य बाटोहरूमा समेत सावधानी र निगरानी बढाएको छ । लकडाउनको अवज्ञा गर्दा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या बढ्न सक्ने भएकोले त्यसतर्फ समेत सुनसरीसहित पूर्वका विभिन्न क्षेत्रमा नेपाली सेनाले निगरानी बढाएको पाइन्छ ।