ताप्लेजुङ/कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कारागारको भिडभाड हटाउन चैत्र ७ गतेको सर्वोच्च अदालतको आदेश अनुसार ताप्लेजुङमा एकजना कैदी छुटेका छन् ।

सरकारी कागज किर्ते मुद्धामा जिल्ला अदालत ताप्लेजुङद्धारा १ वर्ष कैद र ९० हजार जरिवाना फैसला भएका फुङलिङ नगरपालिका ७ का रमेश कुमार राई धरौटी बुझाएर छुटेका हुन् । कार्यालय प्रमुख कुलेन्द्र खवासका अनुसार उनले ४ महिना ४ दिन कैद भुक्तान गरिसकेका थिए । बाँकी ७ महिना २६ दिन कैदवापतको दैनिक ३ सयका दरले ६२ हजार ६ सय रूपैँया धरौटी र फैसला बमोजिमको ९० हजार जरिवाना बुझाएर राई छुटेका हुन् ।

उनलाई सर्वोच्चको आदेशको बुँदा नं ६ बमोजिम मुलुकी फौज्दारी कार्याविधी संहिता २०७४ को दफा १५५ अनुसार जिल्ला अदालत ताप्लेजुङले धरौटीमा छाड्न आदेश दिएको थियो । उनी सँगै अन्य ४ जनाले पनि निवेदन दिएका थिए । उनीहरूको पनि प्रक्रिया अघि बढिसकेको कार्यालय प्रमुख खवासले जानकारी दिए । २५ जना क्षमताको ताप्लेजुङ कारागारमा हाल १ सय १९ कैदि र १७ जना थुनुवा गरि १ सय ३६ जना रहेका छन् ।