भद्रपुर । कोभिड १९ को आशङ्कामा उपचारमा आएकाको सङ्ख्या ३ पुगेको छ । केही दिन अघि भद्रपुरका एक परिवारका सदस्यमध्ये दुई जना मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन कक्षमा भर्ना भएका थिए ।

सोमबार दिउँसो एक जना थपिएको छ । झापा गाउँपालिका घर भएका १८ वर्षीय युवा अस्पतालको सम्पर्कमा आएको अस्पतालका मेसु डाक्टर पिताम्बर ठाकुरले बताए । १० दिनअघि भारतको बहादुरगञ्जस्थित हजुरआमाको घरबाट नेपाल फर्किएका थिए । नेपाल आएसँगै ज्वरो आएको र हालसम्म निको नभएपछि उनी अस्पताल आएको डाक्टर ठाकुरले जनाए ।

ज्वरो १०३ डिग्रीभन्दा माथि रहेको उनको भनाइ छ । स्वाब परीक्षणका लागि मङ्गलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइने उनले जनाए । अन्य दुइजनाको रिपोर्ट साँझसम्म आइपुग्ने उनको भनाइ छ । बीपीमा दैनिक १२ जनाको मात्र परीक्षण हुन्छ ।