भद्रपुर/कतारबाट फर्किएका एक व्यक्ति सेल्फ क्वारेन्टाइनमा नबस्दा परिवारका अन्य सदस्यमा ज्वरो र रुघाखोकी देखा परेको छ ।
भद्रपुर नगरपालिका ३ साबिक महेशपुर बस्ने एक परिवारका सबै सदस्यमा ज्वरो र रुघाखोकी बल्झिएपछि दुई जनालाई अस्पतालको आइसोलेसनमा र चारजनालाई कलवलगुरी प्रशिक्षण केन्द्रको अस्थायी क्वारेन्टाइनमा पठाइएको हो ।
फागुन २९ गते ती परिवारका एक सदस्य कतारबाट घर फर्किएका थिए । कतारबाट फर्किएका व्यक्तिको शारीरिक अवस्था सामान्य रहेकोले उनी घरमै रहेको जनाइएको छ । ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा दुईजना भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. पीताम्बर ठाकुरले जानकारी दिए ।
उनीहरूलाई शनिबार बिहान अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको डा. ठाकुरले बताए । कोरोना भाइरस सङ्क्रमणको आशङकालाई पुष्टि गर्न दुवैजनाको थ्रोट स्वाब परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने अस्पतालले जनाएको छ । अहिले ती व्यक्तिका बुबा र बहिनी आइसोलेसनमा र आमा, श्रीमती, दुई छोरा, छोरी क्वारेन्टाइनमा छन् ।