लक्ष्मीमार्ग/मुलुक यतिबेला कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । कोरोना भाइरसको संक्रमणले विश्वभरीनै उद्योग व्यवसायमा असर गरिरहेको छ । यस कठिन परिस्थितिमा सबै उद्योग व्यवसाय क्षेत्रले आ–आफ्नो ठाउंबाट भोलि आउन सक्ने विपत्ति समेतलाई दृष्टिगत गर्दै आ–आफ्नो भूमिका प्रभावकारी ढंगबाट निर्वाह गर्नुपर्ने वेला आएको छ । अत्यावश्यक वस्तुहरू जस्तो मास्क, सेनीटाइजर लगायत औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थहरूको व्यवस्थापन, विक्रिवितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढंगबाट गरी आम जनतालाई कसरी सेवा दिईहेका छन् भन्ने प्रश्नमा उद्योग वाणीज्य महासंघको शाखाका रुपमा रहेका मोरङका बिभिन्न उद्योग वाणीज्य संघका अध्यक्ष तथा पदाधीकारीहरु यसो भन्छन् ।

प्रितम खड्गी (अध्यक्ष) उर्लावारी उद्योग वाणिज्य संघ

हामी पनि अहिले घरमै बसिरहेका छौँ । अव केहि दिन देखी यस नगर क्षेत्रका दैनिक ज्यालादारी गरेर खाने मजदुर साथीहहरुकोमा यस उद्योग वाणिज्य संघ उर्लावारीले नगरपालिका संग सहकार्य गरेर घरघरमै खाद्यान्न पुर्याउने व्यवस्था मिलाउदै छौँ । उर्लावारीलाई तीन महिनासम्म पुग्ने खाद्यान्न उर्लावारीमै रहेको अनुमान गरेका छौँ । उर्लाबारीमा कुनै पनि प्रकारको दैनिक उपभोग्य वस्तुको संकट आउन नदिन र कालोबजारी हनु नदिन हामि लागिपरेका छौँ । यहाँ दैनिक २ घण्टाको दरले सुरक्षित तवरले ग्यास तथा खाद्यान्नका पसल खोल्ने गरिएको छ ।

दिपक बस्नेत (अध्यक्ष) पथरी उद्योग वाणिज्य संघ

पथरीशनिश्चरे नगरपालीका र इलाका प्रहरी कार्यलय पथरी संग सहकार्य गरेर उद्योग वाणिज्य संघ पथरी यहाँका उपभोक्ताहरुलाई कुनै दैनिक उपभोग्य सामग्रीको संकट नहोस् भनेर अहिले पनि हामि उपभोक्ताको घरघरमा पुगिरहेका छौँ । आफु बचौँ र अरुलाई पनि बचाऔँ भन्दै अभियानमा जुटेका छौँ ।

किसन शाही (महासचिव) केराबारी उद्योग वाणिज्य संघ

केराबारी गाँउपालीका संग सहकार्य गरेर यहाँका उपभोक्ताहरुलाई दैनिक उपभोग्य सामग्रीको अभाव हुन दिएका छैनौँ । दैनिक रुपमा समय मिलाएर २ घण्टा सुरक्षित तवरले खाद्यन्नका पसलहरु खोलिरहेका छौँ । त्यस्तो खासै अन्य गतिविधी गरेका छैनौ लकडाउनको समय भएकोले घरमै सुरक्षित बसिरहेका छौँ ।

योगेन्द्रप्रसाद सुवेदी (अध्यक्ष) बेलबारी उद्योग वाणिज्य संघ

बेलवारीका उपभोक्ताहरुलाई कुनै पनि खाद्यान्न समस्या नहोस भनेर भोलीबाट हामिले बेलवारी नगरपालीका संग सहकार्य गरेर घुम्ती सेवा सुचारु गरेका छौँ । लकडाउनको समयमा उपभोक्ताहरु बाहिर निस्केर किनमेल गर्दा संक्रमित हुने डरले उपभोक्ताहरुलाई चाहिएको सामान घरमै पुर्याउने व्यवस्था मिलाएका हौँ । पसलमा किन्दा भन्दा बढि मुल्य नपर्ने गरी उपभोक्ताको घरघरमा यो सेवा पर्याउने छौँ ।

नवराज चापागाईं (अध्यक्ष) कोशिहरैँचा उद्योग वाणिज्य संघ

हामिले अत्यावस्यक वस्तुको रुपमा रहेका किराना र सागसब्जी पसल खोल्ने व्यवस्था गरेका छौँ । यहाँका मजदुरहरुलाई सिनेटाईजर र माक्स वितरण गर्दै ठाँउठाँउमा हात धुने ठाँउको व्यवस्थापन गरेका छौँ । कालोबजारी हुन नदिन लागिपरेका छौँ । साथै सुनदरहरैचा नगरपालिका संग सहकार्य गरेर बाहिर बाट आएका व्यक्तिहरुलाई पहिचान गर्दै क्वारेन्टाईनमा पठाउने व्यवस्था गरेका छौँ ।

सन्तोष साह (अध्यक्ष) रंगेली उद्योग वाणिज्य संघ

बढ्दो रुपमा रहेको कोरोना भाईरस बाट सबैलाई सुरक्षित हिसावले घरमै लकडाउन भएर बस्न अनुरोध गर्नेगरेका छौँ । दैनिक उपभोग्य खाद्यान्नका पसल बिहान बेलुका खोल्नेगरेका छौँ । सुरक्षित तरिकाले सामान किनमेल गर्न प्रत्येक पसलको अगाडि गोलो घेरा बनाएका छौ त्यहि घेरमा रहेर उपभाक्ताले सामान किन्ने गरेका छन् ।

खड्गबहादुर श्रेष्ठ (अध्यक्ष) लेटाङ उद्योग वाणिज्य संघ

दैनिक उपभोग्य वस्तुहरुको पसलबाट एउटा मात्र सटर खोलेर सेवा दिईरहेका छौँ । लेटाङ बजार आसपासका गाँउहरुमा पनि खाद्यान्न सामान सकिएको अवस्थामा प्रसासन संग अनुमती लिएर सामान पठाईरहेका छौँ । बजारका पसलहरुमा दैनिक उपभोग्य सामान सकिनु अगाबै हामिलाई जानकारी आउनुपर्ने व्यवस्था मिलाएका छौँ सोहि अनुरुप फ्क्ट्री वा ठुला सहरहरु बाट नगरपालीका संग समन्वय गरेर सामान ल्याउने व्यवस्था मिलाएका छौँ ।