धरान । लकडाउन उल्लंघन गर्नेहरुलाई धरान प्रहरीले धमाधम नियन्त्रणमा लिइरहेको छ ।

यो समाचार तयार पार्दासम्म प्रहरीले धरानका विभिन्न क्षेत्रबाट ८५ जनालाई नियन्त्रणमा लिइसकेको छ । जसमध्ये ११ जना महिला छन् भने ७४ जना पुरुष छन् । लकडाउन अवज्ञा गर्ने सवारी साधनलाई पनि धमाधम नियन्त्रणमा लिइरहेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार हालसम्म २३ वटा मोटरसाइकल नियन्त्रणमा आइसकेका छन् । १२ वटा स्कुटी, टेम्पु र सफारी गरेर ८ वटा र एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई कानून बमोजिम कारबाही गर्ने जनाएको छ । मंगलबार नै धरान उपमहानगरपालिकाले पूर्ण लकडाउन गर्ने घोषणा गरेको थियो । जसमा औषधि पसलबाहेकका अन्य सबै सेवा ठप्प गरिने घोषणा गरेको थियो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञासमेत जारी गरिसकेको छ । यस अवधिमा हिँड्नेहरुलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए ।