सिरहा । मिर्चैया नगरपालिकाले नगरभित्रका दुई होटललाई क्वारेन्टाइनका लागि प्रयोगमा ल्याउँदै छ ।

मेयर श्रवण यादवको अध्यक्षतामा बसेको बैठकले मारुती होटल र होटल होलिडेलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको हो । कोरोनाभाइरसको रोकथामका लागि होटललाई क्वारेन्टाइन बनाउन लागेको मेयर यादवले बताए ।

सुरक्षाअधिकारीसहितको बैठकले मिर्चैया नगरपालिका ७ भित्र सञ्चालित होटललाई पूर्ण सुरक्षा प्रदान गर्ने भएको छ । क्वारेन्टाइनमा राखेका बिरामीको पूर्ण सुरक्षा प्रहरीले गर्ने इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलालप्रसाद जैसवारले बताए ।

क्वारेन्टाइनका लागि खटिने  चिकित्सकहरुलाई नेपाल सरकारले तोके बमोजिमको सेवासुविधा दिने र मेडिकल टिम समेत व्यवस्था गरिने मेयर यादवले बताए ।