इटहरी । अनावश्यक रुपमा हिँडडुल गर्नेलाई इटहरी प्रहरीले पक्राउ गरिरहेको छ ।

लकडाउनको समयमा अनावश्यक काममा हिँडडुल गर्नेहरुलाई पक्राउ गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । सरकारले गरेको निर्देशनको अवज्ञा गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । हालसम्म प्रहरीले ६ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

इप्रका इटहरीका प्रमुख डिएसपी धर्मराज भण्डारीले हालसम्म ६ जनालाई पक्राउ गरिसकेको बताए । जिल्ला प्रशासन कार्यालय सुनसरीले लकडाउनकै समयमा निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । प्रशासनले बिहान ६ देखि ६ बजेसम्म कफ्र्यु जारी गरेको छ ।

यस अवधिमा पनि सामान्य रुपमा सवारी चल्न थालेपछि प्रहरीले कडाइ गरेको हो । लकडाउनलाई पूर्ण रुपमा कार्यान्वयन भए मात्रै कोरोनाभाइरसलाई नियन्त्रण गर्न सकिने चिकित्सकहरुको भनाइ छ । लकडाउनको अर्थ भाइरसको संक्रमणमा जुन हिसाबले चेन बनेको हुन्छ त्यो भत्किन्छ । र, त्यो अवधिमा भाइरसको मृत्यु भइसकेको हुन्छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण १ लाखमा फैलिनका लागि ६७ दिन लागेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । त्यसपछि थप १ लाख अर्थात् २ लाख पुग्नका लागि ११ दिन लागेको थियो भने ३ लाखमा पुग्नका लागि जम्मा ३ दिन मात्रै लागेको तथ्यांक सार्वजनिक गरिसकेको छ । यस कारण पनि जतिधेरै मानिसहरुको आवातजावत हुन्छ त्यति नै संक्रमणको खतरा बढी हुन्छ । चिकित्सकहरुले यसलाई सामान्य रुपमा नलिनका लागि पनि आग्रह गरेका छन् ।