संखुवासभा । रुघाखोकी तथा ज्वरो आएपछि जिल्ला अस्पताल खाँदबारी पुगेका चार भारतीय नागरिकलाई डेरामै फिर्ता पठाइएको छ ।

बिरामी भएपछि सोमबार साँझ उनीहरू जिल्ला अस्पताल खाँदबारी पुगेका थिए । २ सय २० केभिएको कोशी करिडोरमा काम गर्न उनीहरु भारतबाट संखुवासभाको तुम्लिङटार आएका थिए । खाँदबारीको बरुण क्याम्पसमा ४० बेडको क्वारेन्टाइन बने पनि तयारी पूरा नभएपछि उनीहरूलाई सुरक्षाकर्मीको निगरानीमा डेरामै बस्ने गरी पठाइएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष जिल्ला समन्वय प्रमुख सुमन शाक्यले बताए ।

उनले कोरोनाभाइरस संक्रमण हुन सक्ने भन्दै क्वारेन्टाइनमा राख्ने भनिए पनि तयारी पूरा नहुँदा उनीहरूलाई होम क्वारेनटाइनमै पठाइएको हो । उनीहरू खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा घर भाडा लिएर बस्दै आएका छन् ।

उनीसँगै बसेका अन्य १५ जनामा पनि ज्वरो र रुघाखोकीको समस्या देखिएको छ । ज्वरो र रुघाखोकी लागेका एक भारतीयलाई भने अस्पतालले छुट्टै कोठाको व्यवस्था गरेको थियो । उनको ज्वरो घट्दो अवस्था रहेको अस्पतालले बताएको छ । उनीहरू कोशी करिडोरको काम गर्न १५ दिन अघि नेपाल आएका थिए ।

क्वारेन्टाइनको तयारी नपुगेकाले तत्काल कसैलाई राख्न नसकिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । प्रजिअ दुलालले स्वास्थ्यकर्र्मी, खानाको व्यवस्थालगायतको तयारी पूरा हुन बाँकी रहेको र बुधबार तयार हुने बताए ।