विराटनगर । विराटनगरमा सर्जिकल मास्क र सेनिटाइजरको कालोबजारी गर्ने व्यापारीलाई सात दिन म्याद थपिएको छ ।

उनलाई कालोबजारी ऐन अन्तर्गत म्याद थप गरिएको हो । विराटनगर–९ का ‘श्री सर्जी इम्पेक्स’ का सञ्चालक ४७ वर्षीय राजेशकुमार अग्रावाललाई जिल्ला प्रशासन कार्यालय मोरङले म्याद थप गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) को प्रकोप फैलिएका बेला बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको आरोपमा अग्रवाललाई आइतबार पक्राउ गरिएको थियो । उनीमाथि थप कारबाहीका लागि म्याद थप गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

व्यापारी अग्रवाललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले पक्राउ गरेलगत्तै ३ लाख रूपैयाँ जरिवाना गरेको थियो । अग्रवाल सर्जिकल सामान तथा औषधिका थोक बिक्रेता हुन् ।

विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली, औषधि व्यवस्था विभाग विराटनगर, वाणिज्य कार्यालय र मोरङ प्रहरीले संयुक्त रूपमा गरेको अनुगमनमा इम्पेक्सबाट ११ हजार ३ सय ५० थान मास्क र ४ सय थान सेनिटाइजर बरामद गरिएको थियो ।

कोलोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ दफा ५ मा बजारमा कुनै वस्तुको अभाव हुनेगरी अनुचित नाफा लिएर बिक्री गर्ने नियतले मालवस्तु संग्रह गरेमा १ वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवना वा दुवै सजाय हुन व्यवस्था रहेको छ ।